कीवर्डहरू -

जनगणनामा प्रविधिको प्रयोग

जनगणनामा प्रविधिको प्रयोग

केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना २०७८ लागि काठमाडौँका छवटा स्थानीय तहमा आधुनिक प्रविधिको प्रयोगबाट जनगणना गरिने भएको छ ।

काठमाडौँ महानगरपालिका, दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन र तारकेश्वर नगरपालिकामा प्रविधियुक्त ट्याब्लेटको प्रयोगबाट जनगणना गर्न लागिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनालाई प्रविधिमैत्री बनाउन र यस वर्ष प्रविधिको प्रयोग नमुनाका रूपमा काठमाडौँका छवटा स्थानीय तहमा ट्याब्लेटको प्रयोग गरिएको जानकारी दिए ।

उनका अनुसार भदौ ३० देखि असोज १८ गतेसम्म भइरहेको घर तथा घर परिवारको सूचीकरण गर्ने कार्यमा पनि ट्याब्लेटकै प्रयोग भइरहेको छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुुने मूल गणनामा पनि उक्त स्थानीय तहमा ट्याब्लेटको प्रयोग हुनेछ ।

काठमाडौँमा भएका जनगणनाका पाँचवटा कार्यालयमध्ये ‘क’ नम्बरको कार्यालयअन्तर्गत पर्ने शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ र टोखामा भने अन्य स्थानमा जस्तै कागजकै फारम भरेर जनगणना कार्य हुँदैछ । विभागसँग सीमित मात्रामा ट्याब्लेट भएकाले अन्य सहरी क्षेत्रमा ट्याब्लेट प्रयोग गर्न नसकिएको विभागले जनाएको छ ।

गत भदौ ३० गतेदेखि भइरहेको घर तथा घरपरिवार सूचीकरण कार्यका लागि आठ हजार ५०० जना सुपरिवेक्षक खटिएको विभागले जनाएको छ । ती सुपरिवेक्षकले यस अवधिमा करिब ७० लाख घर तथा घरपरिवारको गणना गर्दैछन् ।

एक जना सुपरिवेक्षकले ८०० देखि एक हजार घर तथा घरपरिवारको तथ्याङ्क सङ्कलन गर्नुपर्छ । देश विकासको मेरुदण्डका रूपमा रहेको जनगणनामा आउने सुपरिवेक्षक र गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनु सबैको दायित्व भएकाले सुपरिवेक्षकलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे । सरकारले यस वर्षको जनगणनाको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने तय गरेको छ ।

जनगणना अवधिभर कर्मचारी सरुवा नहुने

सङ्घीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय जनगणना अवधिभर स्थानीय तह र तथ्याङ्क विभागमा जनगणनाका लागि खटिएका सबै कर्मचारीलाई सरुवा नगर्ने भएको छ ।

राष्ट्रिय योजना आयोगले स्थानीय तह र तथ्याङ्क विभागअन्तर्गतको कार्यालयमा जनगणनासम्बन्धी काममा काज खटिएका कर्मचारीको सरुवा नगर्न गरिएको आग्रहअनुसार मन्त्रालयले ती कर्मचारीको सरुवा रोकेको हो ।

मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जनगणना अवधिभर जनगणनासम्बन्धी काजमा खटिएका कर्मचारीको सरुवा नहुने बताए । गोरखापत्र