कीवर्डहरू -

असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरुको अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउने चेतावनी दिएको छ ।

बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले १५ गतेसम्म नयाँ भाडादर अनुसार सम्झौता गर्न तथा नवीकरण गर्न एवं बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो ।

विद्युत प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन/इन्टरनेट/केवल टिभी सेवा सञ्चालन गर्ने सेवाप्रदायकहरू मध्ये केहीले नियमानुसार सम्झौता नगरी विद्युत संरचना प्रयोग गरिरहेको, केही सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जीपीएस कोअर्डिनेट नक्सा तथा दुरी खुल्ने कागजात समेत पेस नगरी नयाँ सम्झौता नगरेको तथा केही सेवा प्रदायकहरूले परिमार्जित भाडादर भुक्तानी नगरेकोले मिति २०७८ असोज १५ गतेभित्र नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न तथा हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नुहुन पुनः सूचना प्रकाशित गरिएको छ ।’

सूचनामा अगाडि भनिएको छ, ‘नयाँ सम्झौता नभएसम्म  नयाँ लाइन विस्तारको कार्य नगर्नु/नगराउनु हुन यस अघि नै पटक पटक सूचित गरिसकिएको छ ।’

आगामी असोज १५ भित्र नियमानुसार सम्झौता नगर्ने सेवाप्रदायकहरूको विद्युत प्राधिकरणको विद्युतीय संरचनामा जडान भएका अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउन सकिने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवाप्रदायक संस्था नै हुने प्राधिकरणले चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्ः इन्टरनेटको मूल्य ३०० रूपैयाँसम्म बढाउने आइस्पानको निर्णय

\"\"