इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उपहारस्वरूप इलेक्ट्रिक स्कुटर दिएको हो ।
बुधबार कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् । यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
‘ हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नै ट्राफिक प्रहरीलाई इन्टरनेट सेवा समेत दिँदै आएका छौँ ,’ उनले भने , ‘ त्यसैअन्तर्गत कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामग्री समेत उपलब्ध गराएका थियौँ । ट्राफिक प्रहरीलाई यस अघिदेखि उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा समेत जारी रहनेछ । ’
ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प्रयोग र भाडा चेक जाँचका लागि उक्त स्कुटर प्रयोगमा ल्याउनेछ । ट्राफिक प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै वर्ल्डलिङ्कले यस किसिमको सहयोग उपलब्ध गराएको हो ।
ट्राफिक साइरन जडित यो जापानिज स्कुटर एक पटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्छ । ट्राफिक महिलालाई मोटरसाइकल चलाउन गाह्रो हुनेगरेको अवस्थामा यो विद्युतीय स्कुटरले सहज हुने अपेक्षा गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले वर्ल्डलिङ्कबाट प्राप्त विद्युतीय स्कुटर महिला प्रहरीले प्रयोग गर्ने बताए । ‘ वर्ल्डलिङ्कले उपलब्ध गराएको फ्री वाई - फाईले ट्राफिक सचेतना कक्षाका साथै सेवाग्राहीलाई महत्वपूर्ण सहयोग पुगेको छ ,’ पनि उनले बताएका छन् ।