नेपालका ८५ प्रतिशत अभिभावकहरूले बालबालिकासँग अनलाइन यौन शोषण र दुर्व्यवहारबारे कुराकानी गर्ने नगरेको पाइएको छ । आइतबार अनलाइन बाल सुरक्षाको लागि कार्यरत संस्था चाइल्डसेफनेटले सार्वजनिक गरेको ‘नेपालमा अनलाइन यौन शोषण र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावकको भूमिकाको अभिवृद्धि’ अनुसन्धान प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदन राष्ट्रिय बालअधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल र चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै इन्द्रादेवी ढकालले प्रविधिको तीव्र विकास र बालबालिकाको बढ्दो अनलाइन पहुँचले उनीहरू अनलाइन हिंसाका जोखिममा परेको बताइन् ।
सेफ अनलाइन फण्ड र टेक कोअलिशनको सहयोगमा संचालित यस अध्ययनले काठमाडौं र ललितपुर जिल्लामा मिश्रित विधि (मिस्ड-मेथोड) प्रयोग गरिएको थियो, जसमा ६ देखि १७ वर्ष उमेरका बालबालिकाका ९०० जना अभिभावकसंग सर्वेक्षण गरिनुका साथै, निर्धारित समूह छलफल (फोकस ग्रूप डिस्कोर्ष) र अभिभावक, बालबालिका, विज्ञहरू तथा सरोकारवालासँग विस्तृत अन्तर्वार्ता (की इन्फोर्म्यान्ट इन्टरभ्यू) गरिएको थियो।
अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता र प्रतिवेदनका मुख्य लेखक अनिल रघुवंशीले यस अध्ययनले अभिभावकहरूले अनलाइन यौन शोषण र दुर्व्यवहारका सन्दर्भमा बालबालिकालाई कसरी सुरक्षित राख्ने गरेका छन् भन्ने बुझाइ, दृष्टिकोण र व्यवहारबारे जानकारी संकलन गरिएको जानकारी दिए ।
अध्ययनमा एकल आमाबुवा, अपाङ्गता भएका बालबालिकाका हेरचाहकर्ता जस्ता व्यक्तिहरुका धारणा पनि समावेश गरिएका छन् । रघुवंशीका अनुसार अभिभावकहरुमा अनलाइन जोखिमबारे चिन्ता त देखिन्छ तर धेरैले त्यस्ता जोखिमबाट बालबालिकालाई जोगाउन आवश्यक ज्ञान, जानकारी र सहयोगको अभाव महसुस गरेका छन् ।
प्रतिवेदनका सह–लेखिका तुलसा खड्काले धेरैजसो बालबालिकाले आफ्नै मोबाइल नभए तापनि, उनीहरूले परिवारका सदस्यहरूको मोबाइलबाट इन्टरनेट चलाउने गरेका अनुसन्धानमा देखिएको बताइन् ।
अध्ययनमा ४५ प्रतिशत बालबालिकाले आफ्नै उपकरण प्रयोग गर्ने गरेको जानकारी अभिभावकहरुले दिएका छन् । साथै, ३४ प्रतिशत बालबालिकासँग आफ्नै सामाजिक सञ्जाल खाता र २९ प्रतिशत बालबालिकाले परिवारका सदस्यहरुका खाताहरू प्रयोग गर्ने गरेको पाइएको छ ।
धेरैजसो अभिभावकहरू आफ्ना बालबालिकाको अनलाइन क्रियाकलापबारे अनविज्ञ थिए, जसले गर्दा ती बालबालिका वयस्क सामग्री र अनलाइन ग्रुमिङको जोखिममा परेका थिए । त्यसै गरि अनलाइन ग्रुमिङ, अनलाइन बाल यौन शोषण, र हिंसात्मक वा यौनजन्य सामग्रीबारे धेरैजसो अभिभावकहरूलाई थोरै मात्र जानकारी थियो ।
अनुसन्धान प्रतिवेदनका अर्का सह–लेखक सुलभ रत्न बज्राचार्यले नेपालका ८५ प्रतिशत अभिभावकहरूले अनलाइन बाल यौन शोषण र दुर्व्यवहार सम्बन्धी विषयमा आफ्ना बच्चासँग कहिल्यै कुराकानी गर्ने नगरेको बताए ।
उनका अनुसार मुख्य कारणहरूमा असहजता, जानकारीको अभाव र उमेरअनुकूल नभएको धारणा सामेल छन् । त्यसैगरी लैंगिक अल्पसंख्यक क्वेयर बालबालिकाले आफ्नै परिवारभित्रबाट समेत घृणा, भेदभाव र दुर्व्यवहार सहनुपर्ने अवस्था रहेको अनुसन्धानले देखाएको छ ।
अनुसन्धान प्रतिवेदनमा अभिभावकहरूद्वारा सुझाइएका डिजिटल सुरक्षा सम्बन्धी शिक्षा तथा प्राविधिक समाधानका उपायहरु पनि समेटेका छन् । अध्ययनका अनुसार ७३ प्रतिशत अभिभावकहरूले अहिलेसम्म कुनै पनि अभिभावकीय संयन्त्र प्रयोग नगरेको पाइएको छ ।
त्यसैले ७० प्रतिशत अभिभावकले बाल साइबर सुरक्षा विज्ञद्वारा सञ्चालन गरिने प्रत्यक्ष सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने धारणा राखेका छन् भने ३१ प्रतिशतले भिडियो, एप्स, अनलाइन कोर्स, वेबसाइट वा पम्प्लेट र पुस्तिकाजस्ता मुद्रित सामग्री प्रभावकारी हुने बताएका थिए ।
कार्यक्रममा अभिभावकीय शिक्षा प्रशिक्षक डिसु भण्डारी मानन्धर र बाल शल्य चिकित्सक डा. नृपेश राजभण्डीरीले बालबालिकालाई अनलाइन यौन शोषण र दुर्व्यवहारबाट सुरक्षित राख्न अभिभावकहरुको भूमिकाबारे रोचक र उत्प्रेरक फायरसाईड च्याट संवाद गरेका थिए । अनुसन्धान प्रतिवेदन www.childsafenet.org बाट डाउनलोड गर्न सकिन्छ।