कीवर्डहरू -

३ जनाले शुरू गरेको ‘गुरूबा’, जसले पढाउँछ निःशुल्क अनलाइन कक्षा

३ जनाले शुरू गरेको ‘गुरूबा’, जसले पढाउँछ निःशुल्क अनलाइन कक्षा
(फोटोमा बाँयाबाट क्रमशः विजय अधिकारी, कृष्ण भण्डारी र विनय अधिकारी)

काठमाडौंका विजय अधिकारी जोरपाटीको न्युटन कलेजमा बीबीएस चौंथो वर्षमा पढिरहेका थिए । उनी काम गर्दै पढ्दै गर्ने भएकाले सधैं कलेज जान नसक्ने अवस्था थियो । कलेज नगएपनि उनीमा पढ्ने एक किसिमको हुटहुटी थियो । सधैं कलेज जान नपाउने भएपछि उनले अनलाइनमा कन्टेन्ट पाइन्छन् की भनेर खोजे ।

तर अनलाइनमा उनले पाठ्यक्रम अनुसार अकाउन्ट, बिजनेस म्याथ, अर्थशास्त्र जस्ता व्यवस्थापन विषयको कन्टेन्ट पाएनन् । अंग्रजीमा कन्टेन्ट पाएपनि नेपाली भाषामा पाठ्यक्रम अनुसार कन्टेन्ट कसैले राखेको थिएन् । यस्तै समस्या विजयका दाई विनय अधिकारी र साथी कृष्ण भण्डारीले भोगेका थिए ।

३ जनाले यस्तै समस्या भागेपछि उनीहरूको मनमा एउटा आईडिया आयो नेपाली भाषामै पाठ्यक्रम अनुसार विभिन्न विषय पढाउने । त्यसपछि सन् २०१९ को शुरूमा विद्यार्थीलाई निःशुल्क पढाउने महत्वकांक्षी लक्ष्यसहित शुरू भयो ‘गुरूबा’ युट्युब च्यानल ।

पाठ्यक्रम अनुसार नेपाली भाषामै कन्टेन्ट प्रदान गर्ने उद्देश्य अनुरूपमा गुरूबा स्थापना भएको संस्थापक विजय अधिकारीले बताए । ‘हामीले अनुसन्धान गर्दा नेपाली भाषामा कन्टेन्ट पाएपनि पाठ्यक्रम अनुसार कोर्ष पाएनौं,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘केही कन्टेन्ट पाएपनि त्यो पाठ्यक्रम अनुसार थिएन् । आफ्नो विज्ञापनका लागि जस्तो मात्रै थियो ।’

गुरूबा भनेको एउटा अनलाइन लर्निङ प्लेटफर्म हो । गुणस्तरीय शिक्षा निःशुल्क दिने हाम्रो उद्देश्य भएको उनले बताए । गुरूबा सधैं निःशुल्क हुने र विद्यार्थीबाट कहिलै पैसा नलिने उनले जानकारी दिए ।

अहिले गुरूबाको युट्युब च्यानलमा १ लाख ८५ हजार बढी सब्सक्राइबर रहेका छन् । च्यानल भेरिफाइड पनि भइसकेको छ । च्यानलमा अहिले कक्षा ११, १२ र बीबीएस पहिलो वर्ष र दोस्रो वर्षको बिजनेस म्याथ, अर्थशास्त्र र अकाउन्टको कोर्ष राखिएको छ ।

पाठ्यक्रम अनुसार कक्षा ११ र १२ को अर्थशास्त्र र अकाउन्टको पूर्ण कोर्ष राखिएको छ । बीबीएस पहिलो वर्षको अकाउन्टको पनि पूर्ण कोर्ष च्यानलमा राखिएको छ ।

यहाँसम्म उनीहरूले विभिन्न चुनौतीहरू पार गर्दै आएका छन् । ‘हामीले राखेको कन्टेन्ट चल्छ की चल्दैन् भनेर शुरूमा हामी निश्चित थिएनौं,’ अधिकारी भन्छन्, ‘हामी ३ जना बसेर योजना बनाएका थियौं । हामीले शुरू पनि गर्‍यो । लगत्तै हामीले सोचेको भन्दा धेरै राम्रो भयो ।’

गुरूबाले राखेको कन्टेन्ट विद्यार्थीहरूले एकदमै रूचाएको उनी बताउँछन् । उता गुरूबाको युट्युब च्यानल ग्रो हुँदै गइरहेको तर यता उनीहरूलाई आर्थिक समस्या पर्दै गइरहेको थियो । ‘हामीलाई विस्तारै फन्डको समस्या हुन थाल्यो । शुरूमा हामी आफै मिलेर गर्‍यो । त्यसपछि विस्तारै कर्पोरेट कम्पनीबाट विज्ञापन आयो र अहिले त्यसरी काम गरिरहेका छौं,’ उनले भने ।

\"\"

उनीहरूले युट्युबमा एडसेन्स अन गरेका छन् तर त्यसबाट खासै आम्दानी नभएको उनी बताउँछन् । ‘युट्युबबाट आएको आम्दानीले अफिसको भाडा तिर्न पनि धौंधौं पर्छ,’ उनले अगाडि भने । गुरूबामा अहिलेसम्म ५० लाख लगानी भइसकेको उनले जानकारी दिए ।

परमपरागत रूपमा पढाउने शिक्षकहरू गुरूबासँग काम गर्न इच्छुक भएको तर क्यामेरा फेस गर्न नसक्ने समस्या देखेको उनी बताउँछन् । अहिले कृष्ण भण्डारीले युट्युबमा पढाइरहेका छन् ।

गुरूदेव सोलुसन प्रालिले गुरूबा सञ्चालन गरिरहेको छ । उनीहरूको टिमको शिक्षासँग सम्बन्धित न्युज पोर्टल सञ्चालन गर्ने योजना छ । ‘शिक्षासँग सम्बन्धित राम्रो न्युज पोर्टलको कमी महशुस पनि हामीले गरिरहेका छौं,’ उनले भने ।

कम्पनीले गुरूबा डटकम वेबसाइटलाई पनि सुधार गर्दैछ । हाल ४ जनाको टिमले त्यसमा काम गरिरहेको छ । उनीहरूको मोबाइल एप पनि ल्याउने योजना छ । अर्को वर्षसम्ममा मोबाइल एप पनि आउने उनले बताए ।

तपाई पेड सब्सक्रिप्सन मोडेलमा जानुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् ‘हाम्रो मुख्य मोटो भनेको ‘गुरूबा इज फ्री फरइभर’ हो । विद्यार्थीबाट हामी कुनै पनि पैसा लिदैनौं । पेड सब्सक्रिप्सनमा जादैनौं ।’

गुरूबालाई विभिन्न इन्स्टिच्युट तथा एनजीओहरूले अफर गरिरहेका छन् । त्यो अवस्थामा समन्यव गरेर जान सकिन्छ तर विद्यार्थीबाट शुल्क लिने गरी जान नसकिने उनी बताउँछन् । ‘कुनै लर्निङ म्यानेजमेन्ट सिस्टमले हाम्रो युट्युब च्यानल लिंक गर्छ भने त्यो समस्या छैन्,’ उनले भने, ‘तर उसले व्यवसायीक प्रयोगका लागि गुरूबाको कन्टेन्ट प्रयोग गर्न पाउँदैन् ।’

आगामी दिनमा साइन्सको कोर्ष युट्युब च्यानलमा आउनेछ । जसका लागि उनीहरुले काम गरिरहेका छन् ।  उनले अगाडि भने, ‘नेपालको सबै कोर्षहरू गुरूबामा राख्न पाउन भन्ने हाम्रो उदेश्य हो ।’

हाल म्यानेजमेन्टको मेजर विषयको गरेको र अब साइन्सको मेजर विषयको कोर्ष राख्ने उनले बताए । त्यसपछि अरू विषयको कोर्ष पनि राख्दै जाने उनीहरूको योजना छ । गुरूबाले हालै कन्टेन्टका लागि २ जना शिक्षकलाई अपोइन्ट गरेको छ ।

कम्पनीले केही समय अगाडि ‘बि अ टुटर च्यालेञ्ज’ आयोजना गरेको थियो । जसमा २०० जना सहभागी भएका थिए । त्यसमध्ये १०० जना छनोट भएका छन् । अब उनीहरूको कन्टेन्ट पनि गुरूबामा पब्लिस हुँदै जाने उनले बताए ।

उनीहरूले प्रभु पेसँग पनि सहकार्य गरेका छन् । ‘विद्यार्थीहरूले परीक्षाको समयमा पढ्नुपर्ने नोटहरू हुन्छ । त्यो नोटहरू गुरूबाले प्रभु पेलाई प्रदान गर्छ । त्यसपछि प्रभु पेबाट निःशुल्क पढ्न सकिन्छ ।’

अबको आफुहरूको योजना कन्टेन्ट बढाउने रहेको उनले आइसिटी समाचारलाई बताए । उनले भने, ‘हाम्रो प्राथमिकतामा सबै फ्याकल्टीका कोर्ष राख्ने छ ।’ भविष्यमा स्थानीय तह र इन्स्टिच्युटसँग जोडिएर काम गर्ने अधिकारी बताउँछन् ।