कीवर्डहरू -

डिजिटल टिभीका अभियन्ता : सुदीप आचार्य

डिजिटल टिभीका अभियन्ता : सुदीप आचार्य

सफल युवा व्यवसायीका रुपमा परिचित सुदीप आचार्य टेलिभिजन सेवाप्रदायक डिस होमका प्रबन्ध सञ्चालक हुन् । नेपालको टेलिभिजन उद्योगमै पहिलो पटक सन् २०१० डाइरेक्ट टू दी होम (डिटिएच) सेवामार्फत स्याटेलाइट प्रसारण गरेको यो कम्पनीमा स्थापनाकालदेखि नै आचार्य जोडिएका छन् । लगानीकर्ताको रुपमा यो व्यवसायमा छिरेका उनी विभिन्न भूमिका निर्वाह गर्दै हाल प्रबन्ध सञ्चालकको रुपमा कार्यरत छन् । डिसहोमलाई नेपालकै ठूलो कम्पनीमध्ये एक बनाउन उनको भूमिका सराहनीय छ । यो कम्पनीमा २ सय १ करोड रुपैयाँ सेयर पुँजी छ । २०० करोड रुपैयाँभन्दा बढी बैंक कर्जा छ ।

साथै डिजिटल टिभीको २५ प्रतिशत बजार ओगटेको छ डिसहोमले । यति ठूलो कम्पनीको नेतृत्व हाँक्ने आचार्य आम युवा उद्यमीका लागि प्रेरक बन्न सक्छन् । उनी अन्य व्यवसायमा पनि आबद्ध छन् । विशेषतः बंकिङ तथा जलविद्युत् क्षेत्रमा लगानी गरेका छन् उनले । उनी कामना सेवा विकास बैंकका अध्यक्षसमेत हुन् । त्यस्तै विन्ध्यवासिनी हाइड्रोमार्फत विभिन्न परियोजनासमेत सञ्चालन गरिरहेका छन् उनले । लिभिङ विथ आइसिटीका लागि शिव बस्नेत ले आचार्यको व्यावसायिक जीवनलाई नजीकबाट बुझ्ने प्रयास गर्नुका साथै डिसहोममार्फत भइरहेका कार्यहरुको चर्चा गरेका छन् :

व्यपारिक पृष्ठभूमि र आचार्यको करियर
आचार्य व्यापारिक पृष्ठभूमिको परिवारमा जन्मिए । पोखरामा उनका बुवाले होटल व्यवसाय गर्थे । रारा चाउचाउ पनि उनकै बुवाले सुरु गरेका हुन् । बुवाका आधा दर्जन फ्याक्ट्री थिए । पोखरामै सामान्य स्कुलमा पढिरहेका आचार्य बुवाले रारा चाउचाउको मुख्य काम काठमाडौंबाट गर्न थालेपछि भने ७ वर्षको उमेरमा परिवारसँगै काठमाडौं आए । बूढानीलकण्ठ स्कुलबाट एसएलसीसम्म अध्ययन गरे । ‘बूढानीलकण्ठमा पढ्दै गर्दा नै कम्प्युटरसँग परिचित थिएँ । प्रोग्रामिङमा पनि रुचि थियो,’ उनी भन्छन्, ‘अमेरिकामा सन् १९९१ मा कम्प्युटर इन्जिनियरिङ पढ्ने सोचले गएँ । मैले ओ लेभल गरेको थिएँ । कम्प्युटर इन्जिनियरिङका लागि अन्य कोर्स गर्नु त पथ्र्यो नै, भर्ना हुन कोटा सिस्टम पनि रहेछ । त्यति नै बेला मेरो ध्यान इन्डस्ट्रियल इन्जिनियरिङतर्फ तानियो । बुवाले नेपालमा आधा दर्जन फ्याक्ट्री चलाइरहेकाले मैले त्यो विषयको वाइड स्कोप देखेँ र भर्ना भएँ ।’

उनले अमेरिकामा अध्ययन गर्दा केही कम्पनीका लागि जागिर पनि गर्थे । स्नातकमा इन्डस्ट्रियल इन्जिनियरिङ सक्नासाथ फेरि काम गरियो भने अमेरिकामै अल्झिन्छु भन्ने लाग्थ्यो उनलाई । ‘ग्य्राजुएसन गर्नासाथ नेपाल फर्किएँ । नेपाल आएर केही व्यवसायमा पनि हात हालेँ । यसपछि इन्डस्ट्रियल इन्जिनियरिङमा मास्टर्स पढ्न पुनः अमेरिका गएँ,’ उनले सुनाए । मास्टर्सपछि फेरि नेपाल आएका उनी नेपालमा सशस्त्र द्वन्द्वले चर्को रुप लिइरहेकाले पुनः २००५ मा अमेरिका गए । अमेरिकामा उनले नेपाली कार्पेट बेच्न थाले । ‘परिवार नै व्यापारिक पृष्ठभूमि भएकाले आफूले पनि बिजनेसमै करिअर बनाउनुपर्छ सोच थियो । नेपालमा शान्ति प्रक्रियामा सुरु भएपछि फर्किएँ । यसपछि नै हामीले होम टिभी सुरु गरेका थियौं’, उनले भने ।

डिसहोमलाई आजको दिनमा ल्याउन र सबैभन्दा सफल कम्पनी बनाउन उनको क्रियाशीलता स्थापनाकालदेखि नै रहँदै आएको छ । डिसहोममार्फत ग्राहकका लागि अझै उपयुक्त योजना ल्याउन उनको टिम लागिपरेको छ ।

डिसहोममा लगानीकर्तादेखि प्रबन्ध सञ्चालकसम्म
२००८ मा नेपाल फर्केका आचार्यले सुरुमा कास्की फाइनान्समा डाइरेक्टर भएर काम गरे । त्यसपछि उनी विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीको म्यानेजिङ डाइरेक्टरका रुपमा विभिन्न जलविद्युत् परियोजनाको नेतृत्व गरे । ‘यो प्रोजेक्ट गर्दागर्दै साथीहरुबीच होम टिभीको कुरा आयो । अमेरिकामा डिटिएचको प्रयोग निकै लोकप्रिय भएको देखेको थिएँ । उनीहरुले धेरै च्यानलको र लक्षित दर्शकको अवधारणा ल्याएका थिए । जुन निकै लोकप्रिय थियो । हामीले पनि त्यही अवधारणा नेपालमा भिœयाउने प्रयास गœयौं । नभन्दै २०१० मा होम टिभीको नाममा कम्पनी सेवा सुरु ग¥यौं,’ उनले थपे, ‘होम टिभीका लागि हामीले लगानी गरेका थियौं । अरु कसैले लिड गरिरहेको अवस्था थियो । एकै प्रकृतिका सेवा दिइरहका होम टिभी र डिस मिडियाबीच मर्ज भएपछि साथीहरुमा पनि नयाँ जोस आयो । थप पैसा हाल्यौं । त्यतिबेला बैंकहरुले पनि सहयोग गरे । विदेशी लगानीकर्ता पनि मिसिए ।’

डिसहोममा हरेक दिन ग्राहक बढिरहेका थिए । ग्रामीण भेगमा टिभी हेर्ने डिसहोम बाहेक विकल्प थिएन । अरु टिभी सेवा प्रदायक सहरमै सीमित थिए भने ग्राहकलाई जे दिए पनि हुन्छ भन्ने सोच थियो । ‘हामीले ग्राहकलाई नयाँ कुरा दियौं । क्वालिटी प्रडक्ट र सर्भिस दियौं । विस्तारै कम्पनीले बजार बढ्दै गइरह्यो,’ उनले भने । उनले लगानीका साथमा कम्पनीको डाइरेक्टर अफ सेल्स एन्ड मार्केटिङ भएर काम गरिरहेका थिए । २०१४ मा डिसहोमबाट टाढिए । ‘लगानी डिसहोममै थियो । काम अन्यत्रै गर्ने सोच आयो । होटल खोल्ने तयारीमा थिएँ । ६ महिनापछि प्रमुख कार्यकारी अधिकृतको रुपमा डिसहोमको नेतृत्व लिन अवसर आयो । फेरि डिसहोममा फर्किएँ,’ उनले भने । उनलाई केही महिनाअघि मात्र सञ्चालक सदस्यमा नियुक्त गरी प्रबन्ध सञ्चालकमा नियुक्त गरिएको छ ।

बजार बढाउन निरन्तर क्रियाशील
नेपालमा हाल डिस होमको बजार आक्रामक रुपमा बढिरहेको छ । सरकारले नै एनालग प्रविधिको टेलिभिजन बन्द गराइसकेकाले डिसहोम पहिलो रोजाइमा परिरहेको हो । ‘डिटिएच भनेको नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको विश्वबजारमा प्रचलित लोकप्रिय टेलिभिजन प्रविधि हो । डिटिएचमार्फत नेपाली जनताको मन जित्न सफल डिस होमले पे टिभी उद्योगमा काम गरिरहेको छ,’ उनले भने । डिसहोमलाई आजको दिनमा ल्याउन र सबैभन्दा सफल कम्पनी बनाउन उनको क्रियाशीलता स्थापनाकालदेखि नै रहँदै आएको छ । डिसहोममार्फत ग्राहकका लागि अझै उपयुक्त योजना ल्याउन उनको टिम लागिपरेको छ । ‘गत आर्थिक वर्षबाट पब्लिक कम्पनीका रुपमा रुपान्तरण भइसकेको डिस मिडिया नेटवर्क निकट भविष्यमै सर्वसाधारणका लागि साधारण सेयरसमेत निष्कासन गर्ने योजनामा छ,’ उनले भने । यस क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको उनको भनाइ छ ।

‘टेलिभिजन बिजनेसको प्रकृति नै यस्तो हो कि पहिला पैसा खन्याउने र पछि कमाउने हो । यस्तो क्षेत्रमा लगानीको स्रोत जुटाउन पनि कठिन छ,’ उनले भने । डिसहोममा १४ वटा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणबाट ६७ करोड रुपैयाँ कर्जा लिन परेको थियो । भन्छन्, ‘त्यसले पनि पैसा पुगेन । प्रवद्र्धकले पैसा थप्दै जानुप¥यो । बैंकहरुले गुडविलको भ्यालुएसन, ग्राहकको भ्यालुएसनलाई मान्दैनन् । उनीहरुले आम्दानी र सम्पत्ति मात्र हेर्छन् । सरकारको नीतिमा आएको परिवर्तनले पनि हामीले नोक्सानी बेहोर्नुपरेको छ ।’

आचार्य भन्छन्, ‘क्लिनफिड भन्ने शब्द नै गलत छ । विश्वभर क्लिनफिड छ भनेर हावादारी कुरा गरे । विश्वमा विज्ञापन नराखी चलेको टेलिभिजनहरु पनि छन्, जसले टेलिभिजन नेटवर्क सर्भिस प्रोभाइडरबाट उच्च शुल्क लिएर चलाएका हुन्छन् । विदेशी च्यानलमा विज्ञापन नै बज्नुहुन्न भनियो । मेरो विचारमा विदेशी च्यानलमा नेपाली विज्ञापन बज्नुपर्छ भनिएको भए सही हुने थियो ।’

‘पोलिसीअनुसार काम भएन’
एनालग टिभि सिग्नललाई अनिवार्य रुपमा डिजिटलमा रुपान्तरण गरी कन्डिस्नल एक्सेस सिस्टम (सिएसएस)सहितका डिजिटल सेवाग्राहीहरुको घरघरमा प्रदान गर्ने सरकारको नीतिको समर्थन आफूले गरिरहेका छन् । ‘तर अहिले कास नै लागू नगरी डिजिटल सेवा हो भन्दै सेटअप बक्स वितरण गर्ने डिजिटल केबल संस्थाहरु लागिपरेका छन् । यसले डिजिटलाइजेसनकै धज्जी उडाइरहेको छ,’ उनले भने ।

आफूले यो सरकारबाट निकै अपेक्षा राखे पनि कार्यान्वयन तहमा पारदर्शिता अपनाएका कम्पनीहरुको पक्षमा काम गर्न नसकेको गुनासो उनको छ । ‘ग्राहकले ट्याक्स तिरिरहेका छन् । तर सरकारले पाइरहेको छैन । कास लागू हुन सके कतिओटा बस्क चलिरहेको छ, सबैको जानकारी पाउन सकिन्छ । यसले रिभेन्यु बढाउनुका साथै फेयर बिजनेस पनि गराउँछ,’ उनले भने । साथै देशको तराई क्षेत्रमा भइरहेको अवैध टेलिभिजन सेवा र यसले ल्याएका विकृतिलाई रोक्न नसकिएको गुनासो गरे । ‘सम्भावित ठूलो बजारमा अझै अवैध व्यापार चलिरहेको छ । यसले सरकारलाई नै घाटा पु¥याइरहेको छ,’ उनले सुनाए ।

सिम टिभीको खरिद र डिजिटिजाइजेसनको योजना
डिस होमले केही महिनाअघि सिम टिभीको सेवाप्रदायक कम्पनी सिम्पल मिडिया नेटवर्क खरिद गरेको छ । ‘डिसले सिम टिभी खरिद गरेपछि गुणस्तरीय टिभी हेराइको अनुभव अझ धेरै ग्राहक र स्थानीय केवल अपरेटरहरुसम्म पुग्ने विश्वास गरेका छौं । यसका लागि डिस मिडियाले अझ चुस्त व्यवस्थापनमार्फत नयाँ प्रविधीको प्रयोग, आक्रमक बजार विस्तार र पूर्ण डिजिटलाइजेसनको योजना बनाएको छ,’ आचार्यले भने ।

क्लिनफिडको भ्रम र गैरकानुनी डिटिएच
सरकारले क्लिन फिल्ड नीति लागू गरिसकेका कारण अब नेपालका टेलिभिजन तथा चलचित्र हलमा बज्ने जुन कुनै विज्ञापन तथा होर्डिङ बोर्डहरुमा बिदेशी अनुहारलाई देखाउन नपाइने भएको छ । अहिले पनि नेपालमा विदेशी च्यानलहरु नै बढी हेर्ने गरिन्छ ।
बिजनेसको हिसाबले त बाहिरबाट च्यानल ल्याउँदा धेरै मूल्य तिर्नुपर्ने र क्लिनफिड ल्याउँदा झनै मूल्य बढी पर्ने हुन्छ । आचार्य भन्छन्, ‘क्लिनफिड भन्ने शब्द नै गलत छ । विश्वभर क्लिनफिड छ भनेर हावादारी कुरा गरे । विश्वमा विज्ञापन नराखी चलेको टेलिभिजनहरु पनि छन्, जसले टेलिभिजन नेटवर्क सर्भिस प्रोभाइडरबाट उच्च शुल्क लिएर चलाएका हुन्छन् । विदेशी च्यानलमा विज्ञापन नै बज्नुहुन्न भनियो । मेरो विचारमा विदेशी च्यानलमा नेपाली विज्ञापन बज्नुपर्छ भनिएको भए सही हुने थियो ।’

त्यस्तै काठमाडौंमा हालसम्म ८/९ हजारमा घरमा विदेशी डिटिएच जोडिएको उनी बताउँछन् । तराईको सीमा क्षेत्रमा ५ लाखभन्दा बढी घरमा विदेशी डिटिएच छन् । जसलाई नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान गएको छैन । ‘गैरकानुनी र करको दायरामा नआएको सेवासँग कानुनी र करको दायरामा रहेको कम्पनीले प्रतिस्पर्धा गर्न कठिन छ । यसमा सरकार नै चनाखो हुनुपर्छ,’ उनले भने, ‘विदेशी डिटिएच हेर्ने नेपालीहरुमा नेपालीपन, नेपाली कला र संस्कृति हुँदैन ।

उनीहरु प्रधानमन्त्री भन्नेबित्तिकै नरेन्द्र मोदी सम्झन्छन्, केपी शर्मा ओली होइन । उनीहरुले हेर्ने समाचार, उनीहरुले हेर्ने, फिल्म, टेलिसिरिएल, म्युजिक भिडियो, टक शो सबै विदेशी हुन्छन्, नेपाली हुँदैनन् । उनीहरुमा नेपाली भाषा, साहित्य, संस्कृति, संस्कार सबै मरेको हुन्छ । उनीहरुमा राष्ट्रियता नै हुँदैन । देशको लागि यो ठूलो समस्या हो । यसतर्फ सरकारले गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ ।’

बैकिङ र जलविद्युत् क्षेत्रमा आबद्ध
टेलिभिजन उद्योगमा परिचित आचार्यको व्यावसायिक लगानी बैंक र जलविद्युत्मा पनि छ । उनी कामना सेवा विकास बैंकका अध्यक्ष हुन् । ‘बैंकिङ र टेलिभिजन उद्योग निकै फरक छ । म डिसहोमकै काममा व्यस्त हुन्छ । यहाँ म प्यासनले काम गर्छु । बैंकमा मेरो भूमिका ‘ननएक्ज्युकेटिभ’ छ, जहाँ मेरो फोकस भनेको सिस्टम डेभलपम गर्ने हो ।’ उनले आफ्नो विकास बैंकमार्फत कमर्सियल बैकले दिनेभन्दा राम्रो सेवा दिइरहेको साथै डिजिटल सेवामा अग्रसर भइरहेको समेत बताए । उनले जलविद्युत् क्षेत्रमा पनि लगानी गरिरहेका छन् । विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीमार्फत उनले हाल ४ ओटा परियोजना सञ्चालन गरेका छन् ।

आगामी योजना
डिस होमले छोटो समयमै आफ्नो सेवालाई देशको प्रमुख सहरदेखि अत्यन्त ग्रामीण क्षेत्रमा समेत सहज रुपमा उपलब्ध गराउन सफल भइरहेको छ । आधा दर्जनभन्दा बढी आफ्नै च्यानल सञ्चालन गरेको छ । अहिले पनि डिसहोमले स्पोर्ट्स, मुभीहरुमा ठूलो लगानी गरिरहेको छ । हालै पब्लिक कम्पनीमा परिणत भएपछि डिस मिडियाले कम्पनीको कुल चुक्ता पुँजीको २० प्रतिसत सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । सर्वसाधारणका लागि दिने सो सेयर ४० करोड रुपैयाँबराबरको हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको सञ्चालक समितिले २० प्रतिशत आइपीओ निष्कासन गर्ने प्रस्ताव स्वीकृत गरिसकेको छ ।

साधारणमा जारी हुने सेयर (आइपिओ) प्रिमियम मूल्यमा जारी गर्ने कम्पनीको तयारी छ । ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको डिसहोम सूचना प्रविधि क्षेत्रको पहिलो पब्लिक कम्पनी भएको छ । आचार्य थाइल्यान्डको सिएसआर थट लिडर्स सिएमओ र स्टार ग्रुपद्वारा आयोजित सम्मान कार्यक्रममा नेपाल बेस्ट अवार्ड २०१७ अन्तर्गत सिइओ अफ द इयर २०१७ द्वारा सम्मानित भएका छन् ।