महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो नेपाली बजारमा ल्याएको छ ।
विद्युतीय सवारी साधनको बढ्दो माग र प्रयोगलाई लक्षित गर्दै कम्पनीले पछिल्लो पटक नेपाली बजारमा ट्रियो नामक अटो ल्याएको हो । जसको ‘सफ्ट टप’ भेरियन्टमा मात्र ८ लाख ४० हजार रुपैयाँमा नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
भारती उत्पादनको ट्रियोमा लिथियम आयोन ब्याट्रीको प्रयोग भएको र यसले अधिकतम चार्ज बचत गर्दै प्रतिकिलोमिटर ०.८ रुपैयाँ भन्दा कमको खर्च निकाल्ने कम्पनीले बताएको छ । जसको बचत वार्षिक रुपमा पेट्रोलियम अटोको तुलनामा अधिकतम २ लाख हुन आउने कम्पनीको दाबी छ ।
महिन्द्रा ट्रियो १० हजार भन्दा बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले हालसम्म झण्डै ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको कम्पनीको भनाई छ ।
‘ नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो , जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ । जुन महिन्द्राको ट्रियो अटोले थप आयाम थप्ने छ’ महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले भने ।
ट्रियो अटोमा टेलिमेटिक्स इकाई र जीपीएस , विन्डस्क्रिन र वाइपिङ सिस्टम , स्पेयर व्हीलको व्यवस्था छ । साथै , ड्राइभिङ मोडहरू एफएनआर (फरवार्ड , न्यूट्रल , रिभर्स) , इकोनोमी र बूस्ट मोड , लक गर्न मिल्ने ग्लोभ बक्स , १२ भोल्ट सकेट , १५ एएमपी अफ–बोर्ड चार्जर , खतरा सूचक , रिभर्स बजर , शक्तिशाली हेडलाइटहरूका साथमा मजबुत सस्पेन्सनले सडकमा खाल्डाखुल्डी भएपछि सञ्चालनको क्रममा मेरुदण्डमा पार्ने असरलाई समेत रोक्ने कम्पनीले जनाएको छ ।