सरकारले ६०० परियोजनाहरूलाई स्टार्टअप उद्यम कर्जा प्रदान गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०० परियोजनालाई कर्जा प्रदान गरेको हो ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६६१ वटा न परियोजनालाई कर्जाको लागि छनौट भएका थिए । तीमध्ये ६०० परियोजनाले मात्रै स्टार्टअप कर्जा पाउन सफल भएका हुन् ।
स्टार्टअप उद्यम कर्जाको लागि ५ हजार १५८ परियोजना प्रस्ताव आएका थिए । त्यसपछि प्रारम्भिक मूल्याङ्कन पश्चात् १ हजार ३१४ प्रस्तावहरू प्रारम्भिक सूचीमा समावेश गरिएको थियो ।
सो मध्ये १ हजार ७३ प्रस्तावक मात्र व्यावसायिक प्रस्तुतिमा सहभागी भएका हुँदा उक्त प्रस्तुति समेतका आधारमा ६६१ परियोजना छनोट गरी स्टार्टअप उद्यम कर्जाका लागि कर्जा प्रवाह गर्न राष्ट्रिय बाणिज्य बैंकलाई सिफारिस गरिएको थियो ।
छनोट भएका ६६१ परियोजनामध्ये २०८२ असार मसान्तसम्म ६०० प्रस्तावकलाई राष्ट्रिय बाणिज्य बैंकबाट ८८ करोड ६६ लाख २५ हजार सहुलियतपूर्ण कर्जा प्रवाह भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० मा एक परियोजनालाई बिना धितो तीन प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ ।