कीवर्डहरू -

अब आइफोनका लागि नेपाल टेलिकमले डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने

अब आइफोनका लागि नेपाल टेलिकमले डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने

नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हिजो (२०७८ कार्तिक १० गते) हस्ताक्षर गरेका छन् ।

उल्लेखित सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आइफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ । उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोर मार्फत निःशुल्क उपलब्ध गराउने छ ।

यो सिममा मेन व्यालेन्स रु. १० र थप व्यालेन्स रु. ४० उपलब्ध हुनेछ । उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ ।