कीवर्डहरू -

 फेसबुकको कर्पोरेट नाम ‘मेटा’ मा परिणत, नयाँ तरिकाले हुँदैछ रिब्राण्डिङ

 फेसबुकको कर्पोरेट नाम ‘मेटा’ मा परिणत, नयाँ तरिकाले हुँदैछ रिब्राण्डिङ

फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । स्थापनाको १७ वर्षपछि बिहीबार फेसबुकले आफ्नो कर्पोरेट नाम अबदेखि ‘मेटा’ राख्ने निर्णय सार्वजनिक गरेको हो । कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ ।

यससँगै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलसको मुख्य कम्पनीको नाम अब मेटा इङ्क हुनेछ । फेसबुकका प्रमुख मार्क जकरबर्गले “मेटाभर्स“ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । एकजना पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो ।

बिहीबार आयोजित फेसबुकको एआर÷भीआर केन्द्रित कार्यक्रमका दौरान फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ नाम घोषणा गरेका हुन् । उनले अहिलेको नामले “सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने“ भएकाले नाम परिवर्तन गर्नुपरेको बताए ।

“समयसँगै, मलाई आशा छ कि हामीलाई मेटाभर्स कम्पनीका रुपमा हेरिन्छ ।“ भन्ने जुकरबर्गको भनाई रहेको थियो ।

यसअघि बुढी औँला माथितिर फर्किएको “लाइक“ लोगो थियो भने कम्पनीको नाम परिवर्तन भएसँगै लोगोलाई परिवर्तन गरेर इनफिनिटी आकार बनाइएको छ ।