कीवर्डहरू -

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी कार्यान्वयनको गुरुयोजना बनाउँदै

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी कार्यान्वयनको गुरुयोजना बनाउँदै

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधि कार्यान्वयन र प्रवद्र्धनका लागि गुरुयोजना बनाउने भएको छ । यसै कारणले  प्राधिकरणले परामर्शदाताको खोजी पनि गरिरहेको छ । प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै फाइभजी प्रयोग हुनसक्ने क्षेत्रहरूको पहिचान र त्यसको कार्यान्वयन गर्न गुरुयोजना मागेको हो ।

प्राधिकरणको सूचना अनुसार परामर्शदाताले फाइभजी उपयोगिताको विकास र वृद्धि प्रवृत्तिको सम्बन्धमा अध्ययन गर्नुपर्नेछ । त्यस्तै फाइभजी प्रविधि र त्यससँग सम्बन्धित सेवाहरूको व्यावहारिक उपयोगका लागि प्रमुख क्षेत्रको पहिचान र प्राथमिकता निर्धारण गर्नुपर्नेछ । पहिचान गरिएका क्षेत्रहरूमा फाइभजी कार्यान्वयनको मोडल सम्बन्धमा विस्तृत कार्ययोजना निर्माण गर्नुपर्ने दायित्व पनि परामर्शदाताको हुने प्राधिकरणले जनाएको छ ।

परामर्शदाताले फाइभजी प्रयोगको अन्तर्राष्ट्रिय अभ्यास र विभिन्न क्षेत्रमा यसको उपयोगिताको विषयमा समेत अध्ययन गरेर गुरुयोजनामा समेट्नु पर्नेछ । नेपालमा फाइभजी प्रयोगको उपयोगिताको वृद्धि प्रवृत्तिको अनुमानसमेत परामर्शदाताले पेस गर्नु पर्ने सूचनामा खुलाईएको छ ।

फाइभजीको प्रयोगमार्फत हुनसक्ने सामाजिक प्रभाव, आर्थिक तथा प्राविधिक उन्नति र डिजिटल रूपान्तरणमा यसले पु¥याउन सक्ने सहयोगका सन्दर्भमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गर्नुपर्ने गरी प्राधिकरणले परामर्शदाताको क्षेत्राधिकार तोकेको छ ।