कीवर्डहरू -

नेपाल बैंक ८५ वर्षमा प्रवेश, यस्तो छ लेजर बुकदेखि डिजिटल बैंकिङ सम्मको यात्रा

नेपाल बैंक ८५ वर्षमा प्रवेश, यस्तो छ लेजर बुकदेखि डिजिटल बैंकिङ सम्मको यात्रा

नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८५ वर्षमा प्रवेश गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक आजदेखि ८५ वर्षमा प्रवेश गरेको हो ।

नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो ।  त्यसपछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न थालेको थियो ।

बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ । २०७८ असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी १२ अर्ब ६४ करोड पुगेको छ ।

विगत ८४ वर्षदेखि निरन्तर नेपाली जनतालाई वित्तिय सेवा प्रदान गर्दै आएको बैंक नेपालको पायोनियर बैंकका रूपमा चिनिन्छ । ग्राहकलाई वित्तिय जनचेतना जगाउन समेत बैंकले ठूलो भूमिका खेलेको छ ।

लेजर बुकदेखि डिजिटल बैंकिङ सम्म

पछिल्लो समय सबै क्षेत्रमा प्रविधिको प्रयोग ब्यापक हुँदै गइरहेको छ, जसमा बैंकिङ क्षेत्र समेत एक हो । कुनै समय लेजर बुकमा लेखेर सेवा दिने बैंकले आज जनतालाई अनलाइनबाट सेवा प्रदान गर्न थालेको छ ।

सुरुवाती दिनमा बैंकले लेजर बुक र धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने गर्दथ्यो । कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने गर्थ्यो ।

हाल बैंकले एटिएम, डेबिड कार्ड, क्रेडिट कार्ड, डिजिटल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड पेमेन्ट लगायतका डिजिटल बैकिङ्ग सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ ।

नेपाल बैंकमा अनलाइनबाटै खाता खोल्न सकिन्छ । साथै नागरिक एप प्रयोग गरी क्युआर कोड स्क्यान गरेर पनि खाता खोल्न सकिन्छ ।

साथै नेपाल बैंकका ग्राहकले अनलाइनबाटै भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, डिजिटल वालेटमा पैसा लोड गर्न, मोबाइल, इन्टरनेट तथा टीभीको रिचार्ज गर्न, खानेपानी तथा बिजुलीको बिल तिर्न लगायता अन्य डिजिटल भुक्तानी गर्न सकिन्छ । नेपाल बैंकले हाल डिजिटल बैंकलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

बैंकको एनबीएल मोबाइल बैंकिङ एप एप्पलको एप स्टोर र गूगल प्ले स्टोरमा उपलब्ध रहेको छ । अहिलेसम्म बैंकले २० लाखभन्दा बढी ग्राहकलाई बैंकसँग जोडेको छ । बैंकमा हाल स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २ हजार ४०० जना कर्मचारीले रोजगारी पाएका छन् ।