कीवर्डहरू -

आजबाट नेपालमा ई-पासपोर्ट वितरण गरिदै, पहिलो सत्यमोहन जोशीलाई दिइने

आजबाट नेपालमा ई-पासपोर्ट वितरण गरिदै, पहिलो सत्यमोहन जोशीलाई दिइने

राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू गर्ने भएको छ । आउँदो अंग्रेजी नयाँ वर्षदेखि औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएको ई-पासपोर्ट बुधबार दिउँसोदेखि परीक्षण वितरण शुरू गरिने भएको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार दिउँसो २ बजे ई-पासपोर्टको औपचारिक उद्घाटन गर्दै छन् । उक्त कार्यक्रममा शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट वितरण गरिने जनाइएको छ ।

विद्युतीय राहदानीका लागि नेपालमा रहेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । भने विदेशमा रहेका नेपाली नागरिकको हकमा नागरिकता नम्बरलाई मान्यता दिइने बताइएको छ ।

हाल विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने र औपचारिक वितरण सुरु भएसँगै प्रदेश तथा जिल्लाबाटै विद्युतीय राहदानी वितरण गरिने छ ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । ई-पासपोर्ट छपाइका लागि विभागले गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपैयाँ लागतको सम्झौता गरेको थियो ।

विभागका अनुसार पहिलो चरणमा २० लाख थान विद्युतीय राहदानी छापिने छन् । नेपाल सरकारले पासपोर्टको डिजाइनलाई स्वीकृति दिएपछि पहिलो चरणको छपाइ भइसकेको विभागले जनाएको छ ।

विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र सुरक्षित चिप्स जडान गरिएको हुन्छ, जसमा व्यक्तिको विभिन्न विवरण सुरक्षित हुन्छ । विद्युतीय राहदानी सुरक्षित र भरपर्दो मानिन्छ ।