कीवर्डहरू -

नेशनल पेमेन्ट स्वीचमा २९ बैंक तथा वित्तीय संस्था आवद्ध

नेशनल पेमेन्ट स्वीचमा २९ बैंक तथा वित्तीय संस्था आवद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि २९ बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरेको छ ।

एनसीएचएल तथा सम्बन्धित बैंक/वित्तीय संस्थाका प्रतिनिधिहरूले बिहीबार आयोजित कार्यक्रममा सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच स्थापना गर्न नेपाल क्लियरिङ हाउसलाई गत आर्थिक वर्षमा प्रारम्भिक स्वीकृती प्रदान गरिएको थियो । पहिलो चरणको कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कार्तिक महिनामा दिएको थियो ।

पेमेन्ट स्वीच कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैंकहरू ५ वटा विकास बैंकहरू तथा ६ वटा फाइनान्स कम्पनीहरू गरी जम्मा २८ बैक वित्तीय संस्थाहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अन्य बैंक/वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने योजना रहेको क्लियरिङ हाउसले जनाएको छ ।

कार्ड बाहेकका भुक्तानी प्रणालीबीच अन्तर आबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरू प्रदान गर्नेगरी पहिलो चरणमा आवश्यक सम्पूर्ण तयारी भइसकेकाले सम्झौता पश्चात कार्यान्वयन अघि बढ्ने जनाइएको छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टर नेटवर्क क्युआर, डाइरेक्ट डेबिड रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरू, वालेट–वालेट बीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायत भुक्तानी उपकरणहरू उपलब्ध हुनेछन् ।

दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाएको क्लियरिङ हाउसले जनाएको छ ।