प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक शत्र २०७८/७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा आवेदन खुलाएको छ ।
सीटीईभीटीले बुधबार एक सूचना प्रकाशित गर्दै पूर्ण शुल्कीयतर्फ र निःशुल्क छात्रवृत्ति तर्फ छनोटका लागि आवेदन फाराम खुलाएको हो ।
पूर्ण शुल्कीयका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले आफुले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आगामी मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै निःशुल्क छात्रवृत्तिका लागि आगामी मंसिर २८ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने छ । न्यूनतम योग्यता पुगेका आवेदकहरूले मुलुकभरिको कुनै एक प्रदेशमा मात्र आवेदन फाराम भर्न पाइनेछ ।
एकभन्दा बढी प्रदेशमा आवेदन फाराम भरेको पाइएमा स्वतः रद्द हुने परिषद्ले जानकारी दिएको छ । सीटीईभीटीले जम्मा १२५ जनालाई छात्रवृत्ति प्रदान गर्नेछ । जसमा प्रदेश १ मा १८, प्रदेश २ मा २३, बागमति प्रदेशमा ५७, गण्डकी प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा ९ गरी जम्मा १२५ जनालाई छात्रवृत्ति प्रदान गरिने छ ।
सरकारी तथा सामुदायीक विद्यालयबाट एसईई, प्राविधिक एसएलसी/ प्रिडिप्लोमा र परिषद तथा त्रिभुवन विश्वविद्यालयका आंगिक शिक्षण संस्थाबाट प्राविधिक एसएलसी वा सो सरह उतीर्ण गरेका नेपाली नागरिकलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।
छात्रवृत्तिका लागि यसरी भर्नुहोस् अनलाइनबाटै फाराम
सीटीईभीटीले मंसिर १२ गतेदेखि अनलाइन आवेदन फाराम खुल्ला हुने जानकारी दिएको छ । अनलाइनबाट आवेदन खुल्ला भएपछि शुरूमा वेब ब्राउजरमा गएर सिटिईभीटी डट ओआरजी डट एनपी वा सिटिईभीटीएक्जाम डट ओआरजी डट एनपी (www.ctevt.org.np वा www.ctevtexam.org.np) टाइप गरी इन्टर गर्नुहोस् ।
अनि त्यहाँ देखिएको क्लासिफाईड अनलाइन एप्लिकेसन फर्म (Classified Online Form) मा क्लिक गर्ने । त्यसपछि आफूले अध्ययन गर्न चाहेको एउटा स्तर डिप्लोमा/पिसिएल (Diploma/PCL) छानी न्यू यूजरमा क्लिक गर्ने तथा परीक्षार्थीको नाम, थर र मोबाइल नम्बर राखी प्रोसिडमा क्लिक गर्ने ।
यति गरेपछि शुल्क जम्मा गर्न पे नाउ (PayNow) अप्सनमा क्लिक गरी आफूले शुल्क जम्मा गर्ने कम्पनी छानेर प्रोसिडमा क्लिक गर्नुहोस् । शुल्क ६ सय रूपैयाँ तोकिएको छ ।
शुल्क जम्मा गरेको भेरिफिकेसन पश्चात् आफ्नो पासवर्ड बनाउने र पासवर्ड बनाएपछि क्लासिफाईड स्कलरसिप अनलाइन एप्लिकेसन फर्म ओपन (Classified Scholarship Online Application Form Open) हुन्छ र अनलाइन एप्लिकेसन फर्ममा उल्लेख भएको आवश्यक विवरण भर्दै जानुपर्नेछ ।
अनलाइन फाराम भर्दा पासपोर्ट साइज रंगिन फोटो (35x45mm) को साइज न्यूनतम ८ केबी तथा अधिकतम ५० केबी,परीक्षार्थीको हस्ताक्षरको साइज न्यूनतम ३ केबी तथा अधिकतम २० केबी र आवश्यक पर्ने कागजातको साइजः न्यूनतम ८० केबी तथा अधिकतम ३०० केबी हुनुपर्नेछ । तोकिए अनुसार शुल्क, फोटो र साइज समावेश नभएका आवेदन स्वत रद्ध हुने सीटीईभीटीले जनाएको छ ।
वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन फाराम आवेदक स्वयंले अनलाइनमा प्रक्रिया पूरा गरी परिषद्, प.नि.का. बाट स्वीकृत भएपछि तुरुन्त भर्ना अनुमति पत्र प्रिन्ट गर्न सक्ने छन् । सो प्रिन्ट गरिएको भर्ना अनुमति पत्र शिक्षण संस्थामा भर्ना हुनका लागि चाहिने हुनाले सुरक्षित राख्नुपर्नेछ ।
संस्थाले मोबाइल प्रयोग गरी अनलाइन आवेदन फाराम भर्दा फोटो, कागजातहरू संलग्न गर्दा फाराम सबमिसनमा समस्या आउने गरेकोले सकभर कम्प्युटरको प्रयोग गर्नुहुन अनुरोध गरेको छ।