कीवर्डहरू -

नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसीप कार्यक्रम शुरु

नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसीप कार्यक्रम शुरु

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ ।

समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यस्तो कार्यक्रमको शुरुवात गरिएको बैंकले जनाएको छ ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्देश्यका साथ नबिल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोसिप कार्यक्रम  गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका विभिन्न स्कुल÷कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

बैंकले प्रदेश १ को महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश नम्बर २ को बीरगञ्ज पब्लिक कलेज, बागमती प्रदेशको काम्पिएन कलेज, गण्डकी प्रदेशको फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविद्यालय, लुम्बिनी प्रदेशको क्षितिज इन्टरनेशनल कलेज, कर्णाली प्रदेशको सुर्खेत मोडल कलेज र सुदूर पश्चिमाञ्चल प्रदेशको सुदूर पश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर प्रदान गर्ने नबिल बैंकले जनाएको छ ।

त्यसैगरी फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले आजै गरेको छ ।

यसैगरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य बैंकले राखेको छ ।

यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशिलताको तालिम दिइने छ ।

उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच  बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन् ।