कीवर्डहरू -

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू

अब भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई पासपोर्ट ) प्राप्त गर्न सकिने भएको छ । बुधबारबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरले विद्युतीय राहदानी वितरण गर्न थालेको हो ।

यसअघि राहदानी विभाग (त्रिपुरेश्वर) र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ई–पासपोर्ट वितरण सुरु भईसकेको छ ।

अहिलेका लागि भक्तपुर जिल्ला प्रशासन कार्यालयले ३४ पृष्ठको राहदानी उपलब्ध गराउने जनाएको छ भने पछि ६६ पृष्ठको राहदानी उपलब्ध हुनेछ । यस अघि नेपालमै पहिलो पटक राहदानी विभागले मंसिर १ गते देखि ई पासपोर्ट वितरण गर्न सुरु गरेको थियो ।

शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो ई पासपोर्ट उपलब्ध गराइएको थियो । ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । जुन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिन्छ ।

ई–पासपोर्टको रेजिस्ट्रेसनका फर्मको लागि यस लिकंमा क्लिक गर्नुहोस् । उल्लेखित लिकंमा गएपछि अप्लाई फर पासपोर्ट भन्ने बटनमा थिचेर राहदानीको प्रकार छान्नुपर्ने हुन्छ ।

फर्म भरेपछि अपोइन्टमेन्ट लिएर लाइभ इनरोलमेन्ट गर्नका लागि जिल्ला प्रशासन कार्यालय जानुपर्ने हुन्छ । गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । ई–पासपोर्ट छपाइका लागि विभागले गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपैयाँ लागतको सम्झौता गरेको थियो ।

यस अघि विभागले मंसिर १५ देखि एमआरपीका लागि टोकन वितरणसमेत बन्द गरिसकेको छ भने मंसिर २८ देखि पूर्णरूपमा एमआरपी वितरण बन्द गर्ने जनाएको छ ।

विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र सुरक्षित चिप्स जडान गरिएको हुन्छ, जसमा व्यक्तिको विभिन्न विवरण सुरक्षित हुन्छ । विद्युतीय राहदानी सुरक्षित र भरपर्दो मानिन्छ ।