कीवर्डहरू -

नागरिक एपबाट कसरी खोल्ने बैंकमा खाता ? 

नागरिक एपबाट कसरी खोल्ने बैंकमा खाता ? 

सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाटै प्रदान गर्ने उद्देश्यसहित सरकारले केही समय अगाडि नागरिक एप सार्वजनिक गरेको थियो । नागरिक एपमा विभिन्न सुविधा छन् र नयाँ सुविधा पनि थप हुने चरणमा छन् ।

नागरिक एपको एउटा सुविधा भएको क्युआर कोड स्क्यान गरेर अनलाइन खाता खोल्न सकिने हो । नागरिक एपबाटै खाता खोल्न सकिने भएपछि कागजात बोकेर तथा पहिचान प्रमाणीकरण गराउन बैंकमा पुग्नुपर्ने बाध्यता अब हुने छैन् ।

अहिले नागरिक एपबाट नेपाल बैंक, सिद्धार्थ बैंक र मेगा बैंकमा खाता खोल्न सकिन्छ । यो सेवा प्रयोग गर्न तपाईसँग आफ्नो नागरिक एप भएको मोबाइलसँगै अर्को कम्प्युटर वा स्मार्टफोन हुन जरूरी छ ।

यति भएपछि दुबै डिभाइसमा इन्टरनेटको आवश्यकता पर्नेछ । इन्टरनेट छ भन्ने निश्चित भइसकेपछि कम्प्युटर वा नागरिक एप नभएको अर्को मोबाइलमा कुन बैंकमा खाता खोल्ने हो उक्त बैंकको वेबसाइट खोल्नुहोस् । वेबसाइटमा गएपछि अनलाइनबाट बैंक खाता खोल्ने विकल्पमा जानुहोस् ।

त्यहाँबाट नागरिक एप हुँदै अगाडि बढ्नुहोस् । त्यसपछि त्यहाँ एउटा क्युआर कोड देखिन्छ । क्युआर कोड देखिएपछि आफ्नो मोबाइलमा भएको नागरिक एपमा जानुहोस् र एपको दाँया कुनामा रहेको क्युआ कोड स्क्यानर खोल्नुहोस् ।

यति गरेपछि नागरिक एपको क्यामेराको पहुँच दिनुहोस् । त्यसपछि नागरिक एपमा क्यामेरा खुल्छ । अब कम्प्युटर वा अर्को मोबाइलमा देखिएको क्युआर कोड स्क्यान गर्नुहोस् । त्यस लगत्तै बैंकले तपाईको नागरिक एपमा भएका कुन कुन जानकारी प्राप्त गर्न खोजिरहेको हो भन्ने देखिन्छ । त्यसपछि कन्फर्म गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

यति गरेसँगै नागरिक एपमा भएका तपाईका प्रमाणीत विवरण बैंकको फर्ममा आफै भरिएर आउँछन् । सबै विवरण राम्रोसँग हेर्नुहोस् । खालि भएको स्थानमा भर्नुहोस् र प्रोसिडमा क्लिक गरेर अगाडि बढ्नुहोस् । त्यसपछि बैंकले मागेका वाँकी विवरण भर्दै सबै चरण पुरा गर्नुहोस् ।

यति गरेपछि तपाईको बैंक खाता तयार हुन्छ । जुन तपाईले सम्बन्धित बैंकबाट प्राप्त गर्नुहुनेछ । नागरिक एपबाट खाता खोल्न मात्रै होइन बैंक खाताको केवाईसी समेत अपडेट गर्न सकिन्छ ।

केवाईसी अपडेटका लागि सम्बन्धित बैंकको वेबसाइटमा रहेको केवाईसी भेरिफिकसेनमा जानुहोस् । त्यसमा गएपछि नागरिक एपको विकल्प हुँदै अघिकै प्रक्रिया पुरा गर्नुहोस् ।

भविष्यमा नागरिक एपमा आफ्नो बैंक खाता सोझै जोड्न सकिने छ । जसबाट आफ्नो बैंक खातामा भएको रकम र कारोबार विवरण हेर्न सकिने छ ।