मिदास टेक्नोलोजीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा शुरू गरेको छ ।
अब प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घण्टौँ लाइनमा बस्दा भोग्नुपर्ने सास्तीबाट छुटकारा पाउने मिदासले दाबी गरेको छ । यो सेवा पूर्वाञ्चल स्वास्थ्य क्षेत्र अन्तर्गतमा पहिलो पटक मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरू गरिएको सो कम्पनीले जानकारी दिएको छ ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमै पुगी लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने बताइएको छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
यो सेवा हाल टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरूले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी मिदासले व्यवस्था मिलाएको छ ।
स्वास्थ्य सूचना प्रविधि क्षेत्रको कम्पनी मिदास टेक्नोलोजी आइएमई ग्रुपद्वारा प्रवद्धित कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ ।
कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग पनि गर्दै आइरहेको छ ।
हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभ मेरोडाक्टरडटकममार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दै आइरहेको छ ।
यो सेवा लिन इच्छुक बिरामीहरूका लागि २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरूमार्फत ५० प्रतिशत छुटका साथै अनलाइन टेलिकन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ ।