कीवर्डहरू -

दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिए नलिएको अनुगमन गर्दै प्राधिकरण

दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिए नलिएको अनुगमन गर्दै प्राधिकरण

दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिएको गुनासोलाई सम्बोधन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको अनुगमनका लागि छुट्टै व्यवस्था गर्ने भएको छ ।

स्वीकृत शुल्कभन्दा बढी शुल्क लिए नलिएको जानकारी लिन प्राधिकरणले अनुगमन सेवा खरिद गर्न लागेको हो । त्यसका लागि मङ्गलबार प्राधिकरणले इच्छुक संस्थाबाट आवेदन माग गरेको छ ।

यस्तो सेवामार्फत दूरसञ्चार सेवाप्रदायकको बिलिङ प्रणाली र उनीहरूले विभिन्न सेवाबापत लिइरहेको शुल्कको यकिन जानकारी लिन सकिने प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए । “ग्राहकलाई सेवाप्रदायकले बढी शुल्क लिएको अवस्थामा त्यसलाई नियन्त्रण गर्न यसले सहयोग पु-याउनेछ,” उनले भने ।

दूरसञ्चार ऐन–२०५३ अनुसार सेवाप्रदायकले सेवाबापतको शुल्क प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । प्राधिकरणबाट स्वीकृत गराए पनि सेवाप्रदायकले भ्वाइस, डेटा, एसएमएस, भीएएसलगायतका सेवामा तोकिएकोभन्दा बढी शुल्क लिइरहेको ग्राहकको गुनासो हुने गर्छ ।

यस्ता गुनासोको अनुगमनका लागि प्राधिकरण अहिले सेवाप्रदायककै बिलिङ प्रणालीमा निर्भर हुनुपर्ने अवस्था छ । अब भने प्राधिकरण आफैँले बिलिङ प्रणाली र सेवा शुल्कको वास्तविकता पत्ता लगाउन तेस्रो पक्षबाट अनुगमन सेवा खरिद गर्न लागिएको निर्देशक रोयले जानकारी दिए ।

यसबाट सेवाप्रदायकलाई थाहै नदिई सेवाप्रदायकले उपलब्ध गराएको तथ्याङ्क विश्वसनीय भए नभएको अनुगमन गर्न सकिने अवस्था सिर्जना हुने उनले बताए ।

प्राधिकरणले माग गरेको आवेदनमा छनोट हुने संस्थाले अनुगमनका क्रममा बिलिङ मिटर र शुल्कको वास्तविकता परीक्षण गर्नुपर्नेछ ।

त्यस्तै हरेक महिना भ्वाइस, डेटा, एसएमएस, भीएएसलगायत सेवाको बिलिङ मिटरको अडिट तयार गर्नुपर्नेछ । एउटा सेवाप्रदायकको परीक्षणपश्चात् अर्को सेवाप्रदायकको परीक्षण सुरु गर्नुपर्ने जिम्मेवारी पनि सोही संस्थाको हुनेछ । गोरखापत्र