कीवर्डहरू -

चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन 

चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन 

आजदेखि चिकित्सा शिक्षा स्नातक (ब्याचलर्स) तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरूका लागि अनलाइनबाटै एकीकृत प्रवेश परीक्षाको आवेदन दिन सकिने भएको छ । बिहीबार बिहान १० बजेदेखि अनलाइन आवेदन खुल्ला भएको हो ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातह तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन पुस १४ गतेदेखि माघ २० गतेसम्म दिन सकिने छ ।

आयोगले सन् २०२२ का लागि एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी परफ्युजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बी फार्म, बी अप्टोमेट्री, बीपीट र बीपीएचको एकीकृत प्रवेश परीक्षा लिन थालेको हो ।

आयोगले नेपाली आवेदकका लागि आवेदन शुल्क ४ हजार रूपैयाँ तोकेको छ भने विदेशीका लागि ८ हजार रूपैयाँ तोकेको छ ।

शुल्क हिमालयन बैंक, सेल पे, कनेक्ट आईपीएस, ई-सेवा, खल्ती, प्रभु पे, आईएमई पे, क्यु पे नेपाल, मोरू। डिपैसा, इढेवा, भिसा मास्टर कार्ड, अमेरिकन एक्सप्रेस र युनियन इन्टरनेसनलबाट अनलाइन तिर्न सकिने छ ।

हिमालयन बैंक लिमिटेडमा रहेको चिकित्सा शिक्षा आयोगको खाता नम्बर ०४३०८९३१६७००१७ मा पनि रकम जम्मा गर्न सकिने छ ।

कसरी दिने अनलाइनबाटै आवेदन ?

चिकित्सा शिक्षा स्नातह तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरूका लागि अनलाइनबाटै एकीकृत प्रवेश परीक्षाको आवेदन दिन तपाईलाई बैंक भौचर वा डिपोजिट सिलिप, पासपोर्ट साइज फोटो, एकेडेमीक ट्रान्सक्रिप्ट, सम्बन्धि परिषदको प्रमाणपत्र, नागरिकता, समकक्षता (विदेशी बोर्डबाट प्लस टु पास गरेका नेपालीको हकमा), प्रमाणपत्र र स्क्यान गरिएको हस्ताक्षर आवश्यक पर्छ ।

माथिका यी डकुमेन्ट तयार पारेपछि शुरूमा यहाँ क्लिक गर्नुहोस् (नोटः तपाईले यहाँ क्लिक गरेर अनलाइन आवेदनका लागि निर्देशन समेत पाउन सक्नु हुनेछ)  ।

त्यसपछि तपाईको राष्ट्रियता कुन हो त्यो छनोट गर्नुहोस् । त्यसपछि भौचर नम्बर वा ट्रान्ज्याकसन नम्बर (अनलाइन पेमेन्ट गर्दा ट्रान्ज्याक्स नम्बर देखाउँछ) राख्नुहोस् । अनि कन्ट्याक्ट नम्बर तथा इमेल राख्नुहोस् र अगाडि बढ्नुहोस् ।

यति गरेपछि आफ्नो नाम, जन्ममिति, ठेगाना, नागरिकता नम्बर, सबै डकुमेन्ट (प्रष्ट बुझिने गरी) लगायतका विवरण राखेर अनलाइन फाराम भर्न सकिने छ ।

आवेदकले एकभन्दा बढी कार्यक्रममा आवेदन दिन सक्ने छन् तर यसका लागि छुट्टै भौचरको साथ आवेदन फाराम भर्नुपर्ने हुन्छ । आवेदन सबमिट गरेपछि आवेदकले कन्फर्मेसन पेज प्राप्त गर्नेछन् ।

उक्त पेजलाई प्रिन्ट गरेर राख्नुपर्ने आयोगले जनाएको छ । आवेदन भर्दा केही समस्या भए विभागमा सम्पर्क गर्न सकिने छ ।