कीवर्डहरू -

एक दुई हप्ता भित्रमा भीओएलटिई सेवा व्यावसायिक सञ्चालनमा ल्याउँदै टेलिकम

एक दुई हप्ता भित्रमा भीओएलटिई सेवा व्यावसायिक सञ्चालनमा ल्याउँदै टेलिकम

अबको एक दुई हप्तामा नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा व्यावसायिक सञ्चालनमा आउने भएको छ । ७ महिनाको परीक्षण पछि टेलिकमले भीओएलटिई सेवा व्यावसायिक सञ्चालन गर्न लागेको हो ।

गत जेठ ३ गतेदेखि नेपाल टेलिकमले नेपालमै पहिलो पटक भीओएलटिईको परीक्षण शुरू गरेको थियो । एक दुई हप्ता भित्रमा भीओएलटिई सेवा व्यवसायिक सञ्चालनमा ल्याउने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

‘शुरूमा हामीलाई कुन फोनमा भीओएलटिई चल्छ भनेर थाहा थिएन् । भीओएलटिई नचल्ने फोनमा पनि हामीले उत्पादकसँग कुरा गरेर चल्ने बनायौं,’ उनले आइसिटी समाचारसँग भने, ‘धेरैजसो फोनमा भीओएलटिई सेवा चल्ने भएपछि अब व्यवसायिक सञ्चालन गर्न खोजेको हो ।’

नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवा प्रिपेड र पोस्टपेड फोरजी मोबाइलमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।

टेलिकमले भीओएलटिई सेवा परीक्षण सुरूवातको अवसरमा १०० मिनेट निःशुल्क कल दिएको छ । तर त्यो बाहेक थप सेवा लिदा ग्राहकले पैसा तिर्नुपर्छ । भीओएलटीई व्यावसायिक सञ्चालनमा नआउँदा त्यसको शुल्क निर्धारण भएको छैन् भने प्याकेज पनि आएको छैन् ।

अहिले फोरजीकै दरमा भीओएलटिई सञ्चालन भएको छ । भीओएलटीई व्यावसायिक सञ्चालनमा आएपछि त्यसको शुल्क तथा प्याकेज निर्धारण हुनेछ । व्यावसायिक सञ्चालनमा आएपछि अध्ययन गरेर टेलिकमले प्याकेजहरू पनि ल्याउने उनले बताए ।

टेलिकमको भीओएलटिई सेवा अहिलेसम्म ९ लाखले प्रयोग गरेका छन् । टेलिकमको भीओएलटिई सामसङ, एप्पल र साओमीका अधिकांश फोनमा चल्छ । साथै ओप्पो, भीभो, नोकिया जेडटीई र वानप्लसका फोनमा पनि चल्छ ।

कुन कुन फोनमा टेलिकमको बीओएलटिई चल्छ भनेर थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । टेलिकमले भीओएलटिई रोमिङ सेवा पनि ल्याउने योजना बनाएको छ ।

कसरी प्रयोग गर्ने भीओएलटिई ?

भीओएलटिई चलाउन २ वटा कुराको आवश्यक पर्छ । भीओएलटिई सेवा प्रयोग गर्न सिममा भीओएलटिई सेवा एक्टिभेट गर्नुपर्छ भने मोबाइल फोनमा पनि भीओएलटिई सपोर्ट हुनुपर्छ ।

*४४४# डायल गरेर सिममा भीओएलटिई सेवा एक्टिभेट गर्न सकिन्छ । यदी सिममा भीओएलटिई एक्टिभेट भएन भने सिम नै परिवर्तन गर्नुपर्छ ।

मोबाइल सेटिङको मोबाइल नेटवर्क भित्र गएर भीओएलटिई इनेबल गर्नुपर्छ । मोबाइलमा भीओएलटिई इनेबल भएपछि स्क्रीनको माथितिर थ्रिजी/फोरजी देखाए जस्तै भीओएलटिई देखाउँछ र त्यसपछि यो सेवा प्रयोग गर्न सकिन्छ ।