कीवर्डहरू -

इसेवामा ‘सेक्युर्ड ट्रान्सफर’ फिचर, नचिनेको मान्छेलाई पनि सुरक्षित रूपमा पैसा पठाउन सकिने  

इसेवामा ‘सेक्युर्ड ट्रान्सफर’ फिचर, नचिनेको मान्छेलाई पनि सुरक्षित रूपमा पैसा पठाउन सकिने  

डिजिटल वालेट इसेवामा ‘सेक्युर्ड ट्रान्सफर’ उपलब्ध भएको छ । नेपालमै पहिलो पटक इसेवाले सेक्युर्ड ट्रान्सफर उपलब्ध गराएको हो ।

यो फिचरबाट इसेवा प्रयोगकर्ताले अर्को इसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्ने छन् । यो फिचर १ हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिने छ ।

यो फिचरबाट इसेवाले मिडियटरको रूपमा काम गर्न वा ग्राहकको रकमको ग्यारेन्टी बस्न खोजेको कम्पनीका चिफ म्यानेजर आशिष गौतमले बताए ।

‘अहिले मैले तपाईलाई सामान दिन्छु भन्ने इसेवामा पैसा हाल्न लगाउने तर सामान नदिने काम भइरहेको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘त्यस्तो कामलाई कम गर्न सक्युर्ड ट्रान्सफर फिचर आएको हो ।’

यदी तपाईले सेक्युर्ड फिचर प्रयोग गरेर पैसा पठाउनु भयोभने तपाईले सामान पाएपछि मात्रै उक्त रकम रिलिज गर्न सक्नु हुनेछ ।

सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नेछ, त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जानेछ । सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नेछ ।

साथै यदी सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित कम्प्लेन गर्न सकिने छ । यसले फ्रड कारोबार पनि कम गर्ने इसेवाको विश्वास छ । यो फिचर अहिले इसेवाको वेब भर्सनमा मात्रै उपलब्ध रहेको छ । एपमा पनि यो फिचर १-२ दिनमै उपलब्ध हुनेछ ।

यो फिचर सःशुल्क उपलब्ध रहेको छ । १ हजारभन्दा माथिको कारोबारमा सेक्युर्ड ट्रान्सपर फिचर प्रयोग गर्न सकिने छ । १ हजारदेखि ५ हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्ने छ भने ५ हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने छ ।

तर यदी सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा सय रूपैयाँ शुल्क लाग्नेछ । यो अटो वा म्यानुअल रूपमा प्रयोग गर्न सकिने छ । यदी तपाईले नचिनेको व्यक्तिलाई पैसा पठाउँदै हुनुहुन्छ भने सेक्युर्ड ट्रान्सफर फिचर प्रयोग गर्न इसेवाले आग्रह गर्नेछ ।