कीवर्डहरू -

मेरो कार्यकालमा ७१० भन्दा बढी स्थानीय तहमा फोरजी र ६२ जिल्लामा एफटिटिएच पुग्योः अधिकारी 

मेरो कार्यकालमा ७१० भन्दा बढी स्थानीय तहमा फोरजी र ६२ जिल्लामा एफटिटिएच पुग्योः अधिकारी 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिएको छ । बिहीबारदेखि अधिकारीको तीन वर्षे कार्यकाल सकिएको हो ।

तत्कालिन केपी शर्मा ओली सरकारले २०७५ साल पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक पदमा अधिकारीलाई नियुक्त गरेको थियो। उनी २०७५ पुस २३ गते पदबहाल भएका थिए।

यस कार्यकालमा कम्पनीको सेवा विस्तार, गुणस्तर सुधार, पूर्वाधार विकास, नीतिगत, कानुनी तथा व्यवस्थापकीय कार्यशैली सुधारमा काम गर्ने अवसर पाएको अधिकारीले बताए ।

उनको कार्यकालमा ७७ जिल्लाका ७१० स्थानीय तह भन्दा बढी ठाउँमा अत्याधुनिक प्रविधिको फोरजी सेवा विस्तार भएको छ भने ६२ जिल्लाका शहर तथा शहर उन्मुख क्षेत्रहरुमा भ्वाइस, इन्टरनेट र टिभीसहितको एफटिटिएच सेवा विस्तार भएको छ ।  टेलिकमले पछिल्लो समय एफटिटिएच विस्तारलाई आक्रामक रूपमा अगाडि बढाएको छ ।

अधिकारीले अगाडि भने, ‘ब्याकबोन तथा मोबाइल नेटवर्कको पूर्वाधार विस्तार र स्तरोन्नती, सेवाको गुणस्तर अभिवृद्दि, सेवाको महशुलमा कटौति, कोरोना महामारीमा यथोचित रेस्पोन्स तथा कम्पनीको सांगठनिक, नीतिगत, व्यवस्थापकिय लगायत क्षेत्रमा सुधारका कार्यहरु समेत अगाडि बढाउने कार्यहरु भएका छन् ।’

महामारीका कारण राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय स्तरमा भएका निषेधाज्ञाका कारण कतिपय कार्यहरुमा ढिलाई हुन गएको उनको भनाइ छ ।

समग्रमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको फाउन्डेसनका रुपमा रहेको आइसिटी कनेक्टिभिटीको क्षेत्रमा कम्पनीले उल्लेख्य कार्यहरु गर्न सकेको उनी बताउँछन् ।

उनले अब टेलिकमको प्रबन्ध निर्देशक हुनुभन्दा अघिको पदमा फर्किएर काम गर्ने छन् । तत्कालिन निर्देशिका र नियुक्तिअनुसार अब अधिकारी १० औं तहको प्रबन्धकको रुपमा टेलिकममा हाजिर हुनेछन् ।