नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प शुरू भएको छ । स्वीफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजनामा विन्टर इन्टेक कोड क्याम्प आईतबारदेखि शरू भएको हो ।
उद्योग र एकेडेमीकबीचको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।
नयाँ प्रतिभाहरू पहिचान गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको आयोजकले जानकारी दिएको छ । यसमा २०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् ।
यसअघि गत पुस २ गतेदेखि १६ गतेसम्म विन्टर इन्टेक कोड क्याम्पका लागि रजिष्ट्रेसन खुल्ला गरिएको थियो । त्यसपछि प्राप्त आवेदनमध्ये पहिलो चरणको फिल्टर पश्चात २०० भन्दा बढी विद्यार्थी विन्टर कोड क्याम्पमा छानिएका छन् ।
पुस २८ र २९ गते २०० जना मध्येबाट पुनः अर्को चरणको फिल्टर हुनेछ । उक्त फिल्टरपछि छनोट भएका विद्यार्थीलाई २ महिनाको सिप विकास तालिम दिइनेछ । जुन तालिम माघ ३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।
जाभा, रियाक्ट, डटनेट, एंगुलर, लाराभेल, एन्ड्रोइड तथा आईओएस एप डेभलपमेन्ट, एआई, डेटाबेस, युएक्सयुआई डिजाइन, ग्राफिक्स डिजाइन, पाइथन, फ्लटर, जाभा, पीएचपी, बिजनेस एनालिष्ट लगायतमा छुट्टा छुट्टै टिम बनाएर तालिम प्रदान गरिने छ ।
तालिममा सहभागीले एउटा प्रोजेक्ट बनाउनु पर्नेछ । उक्त प्रोजेक्ट चैत ४ गतेदेखि ८ गतेसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ ।
असाइन गरिएको प्रोजेक्ट र टास्कबाट शर्ट लिष्टेड भएका सहभागीलाई चैत ११ गते रोजगारीका लागि सम्पर्क गरिनेछ । छनोट भएका उम्मेद्वारहरूको चैत १७ गतेदेखि पूर्ण कालिन रोजगारी वा ट्रेनिको रूपमा काम शुरू हुनेछ ।