कीवर्डहरू -

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका

महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किओस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।

महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो ।

पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउदै बिभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्युआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली संचालनमा छन् ।

आज एक कार्यक्रमकाबीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु-पेको किओस्क मेसिन उद्‌घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए ।

उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ, यसले बैंकमा गएर लामो समय लाईनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गरे ।

उनले आम सेवाग्राहिको सहजताको लागी किअस्क मेसिन जडानको लागी प्रभु-पेलाई हार्दिक धन्यबाद दिँदै थप ट्राफिक कार्यालयहरुमा सेवा बिस्तार गर्न समेत सहयोग हुने अपेक्षा व्यक्त गरे ।

ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रबिधीहरुलाई क्रमश परिस्कृत गर्दै आजैदेखी मेसिनमा नगद प्रयोग गरि जरिवाना तिर्न सकिने सेवा शुरु गरेको छ ।

प्रभु-पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किओस्क मेसिन जडान गरि सेवा बिस्तार गर्न पाउदा खुशी व्यक्त गरे ।

उनले यो मेसिनले बैंकिङ कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढि लाभान्वीत हुने समेत बताए ।

हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताए ।

कसरी तिर्ने मेसिनबाट जरिवाना ?

सर्बप्रथम प्रभु-पेको किओस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरि स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरि नेक्सट बटन थिच्चनुहोस् ।

त्यसपछि देखिने चिट नम्बर लगायतको सुचना चेक गरि नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।

कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समेत यो मेसिनले महत्वपुर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एव एसपी संजीब शर्मा दासले बताए ।

ट्राफिक जरिवाना तिर्न विभिन्न प्रविधिको बिस्तार गर्ने क्रममा मोबाईल बैंकिङ वा अन्य अनलाईन प्रविधिको प्रयोग नगर्ने सेवाग्राहीलाई नगदै पैसा तिर्ने यो मेसिन अत्यन्त सहयोगी हुनेछ ।

ट्राफिक कार्यालयमा सेवा लिन आउने सम्पुर्ण सेवाग्राहीलाई सहज एवं सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको र अबका दिनमा समेत थप प्रविधिमा जोड दिने महाशाखाले जनाएको छ ।

विभिन्न प्रविधिको प्रयोग गरि ट्राफिक जरिवाना भुक्तानी गर्न आम सेवाग्राहीलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोध समेत गरेको छ ।