कीवर्डहरू -

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त

दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त

नेपालको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छिन् । कुँवरले ई-कमर्स जायन्ट अमेजनसँग विगत पाँच वर्षदेखि ग्लोबल विस्तारमा प्रबन्धकको रुपमा काम गर्दै आएकी थिइन् ।

दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवरलाई नियुक्त गरिएको जानकारी दराजका सिईओ तथा संस्थापक बिजार्के मिकेलशनले आफ्नो लिकंड इन अकाउन्टबाट दिएका हुन् । उनको नियुक्तीले स्थानीयकृत व्यापार रणनीतिलाई पूरा हुन मद्दत पुर्‍याउने मिकेलशनको भनाइ रहेको छ ।

सेन्ट जेभियर्स माइतीघरबाट आइएससी पूरा गरेकी कुँवरले सेन्ट क्लाउड स्टेट विश्वविद्यालयबाट स्नातक तह र मिनेशोटा विश्वविद्यालयको कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीएको अध्ययन पूरा गरकी हुन् ।

दराजलाई अलिबाबा ग्रुपले रकेट इन्टरनेट एसईबाट अधिग्रहण गरेपछि कुँवरलाई प्रबन्ध निर्देशकको रुपमा नियुक्त गरिएको हो । कुँवरसँग विदेशमा विगत १५ वर्षदेखि शीर्ष स्थानहरुमा काम गरेको अनुभव रहेको छ ।

आँचल कुँवरलाई प्रबन्ध निर्देशकको रुपमा नियुक्ती गरिदा नेपाली महिलाहरुका लागि यो उदाहरणीय हुने मिकेलशनको विश्वास रहेको छ । उनले दराजमा देखाएको प्रतिनिधित्वले नेपालको अरु व्यवसायहरुमा पनि महिलाले अवसर पाउने र लैगिंक भेदभाव कम हुने आशा पनि मिकेलशनले व्यक्त गरेका छन् ।