काठमाडौं । माइक्रोसफ्टले आफ्नो एआई सहायक Copilot लाई अझ व्यवस्थित र काम–केन्द्रित बनाउने योजना अघि बढाएको छ । गुगलले Gemini AI र सर्चलाई जोड्दै आफ्नो प्रम्प्ट बक्स विस्तार गर्ने योजना सार्वजनिक गरेपछि माइक्रोसफ्टले फरक रणनीति अपनाएको हो ।
माइक्रोसफ्टले एआई प्रम्प्ट बक्सलाई प्रोडक्टिभिटी एप सुधारमा केन्द्रित गर्दै विस्तार गरिरहेको छ । हाल कम्पनीले यो फिचर केही कर्पोरेट साझेदारहरूसँग आन्तरिक परीक्षण गरिरहेको छ । भविष्यमा यो प्रविधि इन्टरप्राइज Copilot हुँदै सामान्य उपभोक्तासम्म पुग्ने अपेक्षा गरिएको छ ।
अब प्रम्प्ट बक्स केवल सामान्य “Learn” वा “Create” जस्ता विकल्पमा सीमित नरही प्रयोगकर्ताको काम र प्रयोग भइरहेको एपअनुसार उपयुक्त सुझाव दिनेछ । साथै Copilot सँगको अन्तरक्रियामा “read-only” मोड पनि उपलब्ध हुने भएको छ, जसले आवश्यक परे मात्र परिवर्तन गर्न दिनेछ । Word, PowerPoint र Excel जस्ता एपहरूमा काम अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
माइक्रोसफ्टले Copilot प्रयोगलाई अझ नियन्त्रण योग्य बनाउने योजना पनि अघि सारेको छ । प्रयोगकर्ताले आवश्यक परिवर्तन गरेपछि ती परिवर्तनलाई “lock” गर्ने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ, जसले Copilot लाई थप अनावश्यक सम्पादन गर्नबाट रोक्नेछ ।
साथै, Copilot लाई कागजातको निश्चित भागमा मात्र सीमित गर्ने सुविधा पनि ल्याउने योजना छ, जसले चयन गरिएको भाग बाहिर कुनै परिवर्तन गर्न नदिनेछ । यो फिचर कसरी प्रयोग गरिने भन्ने विषयमा अझ स्पष्ट विवरण आउन बाँकी छ ।
माइक्रोसफ्टले मार्चमा आफ्नो कमर्शियल र कन्जुमर Copilot संस्करणहरूलाई एउटै नेतृत्वअन्तर्गत ल्याउने घोषणा गरेको थियो, जसले यसको डिजाइन र अनुभवलाई पनि एकीकृत गर्ने अपेक्षा गरिएको छ ।
हाल Windows र Microsoft 365 जस्ता विभिन्न प्लेटफर्ममा Copilot का धेरै संस्करण भएकाले प्रयोगकर्तामा भ्रम र थकान बढेको भन्दै कम्पनीले यसलाई सरल बनाउने योजना अघि सारेको हो ।
एआई एपहरूको तीव्र विस्तारपछि देखिएको असन्तुष्टि र अत्यधिक दबाबका बीच, माइक्रोसफ्टले Copilot लाई दैनिक काममा सहज रूपमा प्रयोग गर्न मिल्ने, कम जटिल र बढी उपयोगी प्रोडक्टिभिटी टुल बनाउने लक्ष्य राखेको छ ।
आईसीटी समाचार