कीवर्डहरू -

डिजिटल नेपाल अभियानमा नयाँ फड्को, ८० विशेषज्ञको टोली परिचालन गरिने

डिजिटल नेपाल अभियानमा नयाँ फड्को, ८० विशेषज्ञको टोली परिचालन गरिने

काठमाडौं । सरकारले सार्वजनिक प्रशासनलाई डिजिटल प्रविधिमा आधारित बनाउने लक्ष्यसहित उच्चस्तरीय प्राविधिक टोली गठन गर्ने तयारी गरेको छ । सूचना–प्रविधि प्रणालीलाई एकीकृत र सुरक्षित बनाउने उद्देश्यले ८० सदस्यीय विशेष टोली परिचालन गरिने भएको हो ।

ललितपुरमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी निकायहरूमा प्रयोग भइरहेका विभिन्न सफ्टवेयर तथा सूचना–प्रविधि प्रणालीलाई एउटै संरचनामार्फत सञ्चालन गर्ने योजना अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार उक्त टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहनेछ र सरकारी डिजिटल पूर्वाधारको विकास, व्यवस्थापन तथा सुरक्षाको जिम्मेवारी वहन गर्नेछ ।

अर्थमन्त्री वाग्लेले यस कदमले सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, प्रशासनिक खर्च घटाउने तथा वार्षिक रूपमा ठूलो रकम बचत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले डिजिटल प्रणालीको विस्तारसँगै राष्ट्रिय सुरक्षालाई पनि थप मजबुत बनाउने उद्देश्य राखिएको बताए ।

“सरकार अब डिजिटल रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्न लागेको छ । विभिन्न मन्त्रालय तथा निकायमा छुट्टाछुट्टै सञ्चालन भइरहेका सूचना–प्रविधिसम्बन्धी कामलाई एकीकृत प्रणालीमा ल्याइनेछ,” मन्त्री वाग्लेले भने ।

सरकारी सञ्चार प्रणालीलाई सुरक्षित बनाउने प्रयासस्वरूप ह्वाट्सएपजस्तै प्रयोग गर्न सकिने स्वदेशी ‘इन्क्रिप्टेड’ मेसेजिङ एपसमेत विकास भइसकेको उनले जानकारी दिए । उक्त एप सरकारी अधिकारीहरूबीच सुरक्षित सञ्चारका लागि प्रयोग गरिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै खर्च कटौती र मितव्ययितालाई कडाइका साथ कार्यान्वयन गरिरहेको पनि बताए । उनका अनुसार अनावश्यक खर्च नियन्त्रण गर्दै प्रविधिमा आधारित सेवा विस्तारमार्फत सार्वजनिक प्रशासनलाई आधुनिक र परिणाममुखी बनाउने सरकारको लक्ष्य रहेको छ ।