काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को रियल–टाइम रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत एक महिनामै १ ट्रिलियन रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा यो अहिलेसम्मकै ऐतिहासिक उपलब्धि मानिएको छ ।
एनसीएचएलका अनुसार असार २०८३ (मध्य जुनदेखि मध्य जुलाई २०२६) मा आरपीएसमार्फत भएको मासिक कारोबार १ ट्रिलियन रुपैयाँ (करिब ६.७ अर्ब अमेरिकी डलर) नाघेको हो ।
एनसीएचएलले यो उपलब्धिले नेपालको अन्तरसञ्चालनयोग्य (Interoperable) राष्ट्रिय भुक्तानी प्रणालीप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको पुष्टि गरेको जनाएको छ । साथै, साझा भुक्तानी पूर्वाधारको क्षमता, विश्वसनीयता र विस्तारसँगै डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन आरपीएसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।
कम्पनीले यो उपलब्धि सम्भव बनाउन सहयोग गर्ने बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, साझेदार संस्था र सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।
एनसीएचएलले आगामी दिनमा पनि अन्तरसञ्चालन (Interoperability), नवप्रवर्तन (Innovation) र वित्तीय समावेशीकरण (Financial Inclusion) लाई थप प्रवर्द्धन गर्दै डिजिटल रूपमा जोडिएको नेपाल निर्माणमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
आईसीटी समाचार