कीवर्डहरू -

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पीएचडी तथा स्नातकोत्तर तहमा भर्ना खुला

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पीएचडी तथा स्नातकोत्तर तहमा भर्ना खुला

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) तथा स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ ।   नेपालको पहिलो अनुसन्धानमुलक विश्वविद्यालयको रुपमा चित्लाङमा स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले इन्स्टिच्युट अफ अप्लाइड साइन्स अन्तर्गत विभिन्न विधामा ८ सिटमा विद्यावारिधि तथा ४८ सिटमा स्नातकोत्तरमा भर्ना खुलाएको हो । 

विश्वविद्यालयले आर्टिफिसिएल इन्टेलीजेन्स, अर्ग्यानिक कृषि, फरेस्ट बायोमटेरिएल साइन्स तथा इञ्जिनियरिङ्ग, तथा सस्टेनेबल र रिसिलियन्ट संरचना गरि चारवटा विधामा आवेदन माग गरेको छ । 

स्नातकोत्तर तह अध्ययनका लागि विश्वविद्यालयले २५ प्रतिशतदेखि शत: प्रतिशत छात्रवृत्ति तथा प्रत्यक विधामा दुई जनालाई शैक्षिक भत्ता समेत प्रदान गर्नेछ । प्रत्येक विधामा विद्यावारिधि गर्ने २ जना विद्यार्थीका लागि शत प्रतिशत छात्रवृत्ति तथा महिनाको २० हजार (३ वर्षको लागि) र स्नातकोत्तर गर्ने २ जना विद्यार्थीहरुका लागि महिनाको १२ हजार रकम (२ वर्षको लागि) उपलब्ध गराउने छ । प्रत्येक विधामा विद्यावारिधिमा २-२ वटा तथा स्नातकोत्तरमा १६-१६ वटा सिटहरु उपलब्ध छन् ।

कुनै एक विषय आफ्नै खर्चमा अध्ययन गर्न वर्षको एक लाख पचास हजार शुल्क तिर्नु पर्दछ । विश्वविद्यालयमा एप्लाइड साइन्स मास्टर र बिद्यावारिधि कार्यक्रमहरू विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित केन्द्रित छन्। प्राङ्गारिक कृषि र वनजैविक श्रोत कार्यक्रमले कृषि, वनपैदावारहरूको मूल्यवर्धित (भ्यालुयाडेड) उपयोगका लागि दिगो प्रविधिहरू विकास गर्ने उद्देश्य राखेको छ ।

कृषि तथा वनपैदावारहरूको दिगो व्यवस्थापनका लागि अत्याधुनिक अनुसन्धान र प्रविधिहरू लागू गरी पर्यावरणीय, आर्थिक, र सामाजिक क्षेत्रमा फाइदा पुर्याउने लक्ष्य लिएको छ । विशेष गरी, यसले स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा कृषि तथा वन-आधारित उद्योग तथा व्यवसायिक क्षेत्रको भविष्यको आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताइएको छ ।

त्यसै गरि सस्टेनेबल र रिसिलियन्ट संरचना कार्यक्रमले आफ्नो अनुसन्धानमार्फत स्थानीय आर्थिक विकासका लागि ग्रामीण पर्यटनलाई बढावा दिन होमस्टे, टिहाउस, गोरेटो र ट्रेकिंग मार्गहरू, र सम्बन्धित सेवाहरू समावेश गरी टिकाऊ र सक्षम पूर्वाधार विकास गर्ने योजना राखेको छ । 

नयाँ विधा एआई विद्यावारिधिले विद्यार्थीहरु प्रविधि, स्वास्थ्य, कृषि, वातावरण, सुशासन, संकट व्यवस्थापन आदि जटिल चुनौतीहरूमा उन्नत एआई विधिहरू लागू गर्ने सक्षम वैज्ञानिकहरू बन्ने गरी कोर्स डिजाइन गरिएको छ। यी कार्यक्रमहरु संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूमा आधारित छन र सामाजिक रूपमा जिम्मेवार, नैतिक, र प्रासंगिक अनुसन्धानलाई प्रोत्साहन गर्दछन । 

उपरोक्त कार्यक्रमहरुका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा अध्धयन तथा अनुसन्धान गरेका प्राध्यापकहरुले प्राध्यापन गर्ने छन् । साथै उनीहरूले शिक्षा र व्यावहारिक प्रयोग दुबै क्षेत्रमा दशकौंको सम्मिलित अनुभव प्रदान गर्ने छन् ।

विश्वविद्यालयको नीति अनुरुप प्राध्यापन गर्ने प्राध्यापकहरुको शैक्षिक योग्यता कम्तिमा विद्यावारिधि गरेको र अनुसन्धानको समेत अनुभव र ज्ञान हुनु पर्दछ । हाल विश्वविद्यालयमा एसिया, युरोप, र उत्तर अमेरिकाका अग्रणी विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरू, र नीति संस्थानहरूबाट दशकौंको अनुभव प्राप्त गरेका प्राध्यापकहरुले अध्यापन गर्दछन ।

विश्वविद्यालयको अनुभवी फ्याकल्टी इकोसिस्टमले विद्यार्थीहरूलाई सिद्धान्त र व्यावहारिक नवप्रवर्तन दुबैमा गहिरो आधार सहित उच्च प्रभाव भएको, सामाजिक दायित्वबोध गराउने अनुसन्धान गर्न सशक्त बनाउँछ। प्राध्यापकहरू संग भएको राष्ट्रिय तथा अन्तरास्ट्रिय  अनुसन्धान नेटवर्क र सहयोगात्मक परियोजनाहरूले विद्यार्थीहरूलाई विभिन्न अवसर प्रदान गर्दछ। 

यी बिषयहरुमा शैक्षिक जानकारी लिनु परे विश्वविद्यालयको इन्स्टिच्युट अफ अप्लाइड साइन्सका निर्देशक डा. किर्ति कुसुम जोशीलाई विश्वविद्यालयको सम्पर्क नम्बर ९८४००८८०१६  वा ९८४९८४८०५३ मार्फत सम्पर्क गर्न सकिन्छ । विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइट www.mbust.edu.np राखिएको छ ।