डेस्कटपमा सबैभन्दा धेरै प्रयोग हुने भिडियो सम्पादन सफ्टवेयरमध्ये एक एडोबी प्रिमियर अब आईफोनमा पनि उपलब्ध भएको छ।
लामो समयसम्म मोबाइल प्रयोगकर्ताहरूले पूर्ण प्रिमियर एप पाउन सकेका थिएनन्, तर अब एप्पलको आईओएस प्रयोगकर्ताका लागि नयाँ एप ल्याइएको छ।
एडोबीले मंगलबार ब्लगमार्फत जानकारी दिँदै प्रयोगकर्ताले अब मोबाइलमा सम्पादन सुरु गरेर डेस्कटपमा गएर अझ परिष्कृत सम्पादन गर्न सक्ने सुविधा पाउने बताएको छ ।
कम्पनीले यस कदमलाई टिकटकको क्यापकट, इन्स्टाग्रामको एडिट्स जस्ता सजिलो तर शक्तिशाली मोबाइल एपसँग प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकताको रूपमा देखेको छ।
नयाँ प्रिमियर एपले के गर्न सक्छ ?
नयाँ आईओएस प्रिमियर एपमा प्रयोगकर्ताले फोरके एचडीआर सम्पादन, एनिमेटेड क्याप्सन, मोशन इफेक्ट्स र तत्काल ब्याकग्राउण्ड रिमुभल जस्ता सुविधा पाउनेछन्। साथै एपमा स्टिकर, इमेज, एडोबी फन्ट र रोयल्टी-फ्री संगीत जस्ता निःशुल्क क्रिएटिभ सामग्री पनि प्रयोग गर्न सकिन्छ।
सम्पादन गरिएका भिडियोहरूलाई प्रयोगकर्ताले प्रत्यक्ष टिकटक, युट्युब शर्ट्स, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा पठाउन सक्नेछन्। प्लेटफर्मअनुसार भिडियोको साइज मिलाउने र मुख्य एक्शन फ्रेममै राख्ने सुविधा पनि रहनेछ।
एपमा एआई-आधारित इन्ह्यान्स स्पीच फिचरमार्फत भ्वाइसओभर अझ स्पष्ट बनाउन सकिन्छ। त्यस्तै, जेनेरेटिभ साउन्ड इफेक्टले भिडियोमा ठीक समयमा मिल्ने ध्वनि प्रभाव थप्ने सुविधा दिनेछ।
एपमा एडोबी फायरफ्लाई पनि एकीकृत गरिएको छ, जसको सहायताले प्रयोगकर्ताले स्टिकर, इमेज, भिडियो र अन्य सामग्री सुरक्षित रूपमा जनरेटिव एआईमार्फत बनाउन सक्नेछन्।
नयाँ एप निःशुल्क र विज्ञापनविहीन रूपमा उपलब्ध छ। तर एआई-सम्बन्धी कामका लागि प्रयोगकर्ताले अतिरिक्त जेनेरेटिभ क्रेडिट र स्टोरेज किन्नुपर्नेछ।
प्रिमियर एप अहिले आईफोन, आईप्याड (आईओएस १७ वा आईप्याड ओएस १७ वा माथिको संस्करणमा) र एप्पल भिजन प्रो (भिजनओएस १.० वा माथि) मा उपलब्ध छ।
कम्पनीको प्रिमियर एप एन्ड्रोइड संस्करणमा पनि विकास गरिरहेको छ । तर कहिले सार्वजनिक हुन्छ त्यो भने खुलाइएको छैन् ।