कीवर्डहरू -

एप्पल म्याप्समा पनि अब देखिनेछ विज्ञापन

एप्पल म्याप्समा पनि अब देखिनेछ विज्ञापन

एप्पलको म्याप्स एप अब केवल दिशानिर्देशका लागि मात्र सीमित नहुने भएको छ। ब्लूमबर्गका पत्रकार मार्क गुरमनका अनुसार, एप्पलले आगामी वर्षदेखि म्याप्समा विज्ञापनहरू समावेश गर्ने योजना बनाइरहेको छ। 

कम्पनीले यो प्रणालीमार्फत रेस्टुरेन्ट र व्यवसायहरूलाई अतिरिक्त शुल्क तिरेर म्याप्समा आफ्नो दृश्यता अर्थात भिजिबिलिटी बढाउने सुविधा दिने तयारी गरेको हो।

हाल गूगल म्याप्स वा येल्पमा देखिने विज्ञापनहरूजस्तै, प्रयोगकर्ताले नयाँ रेस्टुरेन्ट वा व्यवसाय खोज्दा एप्पल म्याप्समा पनि केही ‘स्पोन्सर्ड’ नतिजा देखिनेछन्। तर गुरमनका अनुसार, एप्पलले यो सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी खोज परिणामहरू अझ सटीक र उपयोगकर्ता–मैत्री बनाउन खोज्दैछ।

सन् २०२२ मै एप्पलले आफ्ना विभिन्न एपहरूमा विज्ञापन समावेश गर्ने योजना बनाएको रिपोर्ट सार्वजनिक भएको थियो। हाल एप्पलले एप स्टोरमा विज्ञापन स्थान उपलब्ध गराइरहेको छ, जहाँ डेभलपरहरूले आफ्नो एपलाई बढी दृश्यता दिलाउनका लागि भुक्तानी गर्न सक्छन्।

म्याप्सपछि एप्पलले आफ्नो न्युज, बुक्स, पोडकास्ट लगायतका अन्य एपहरूमा पनि विज्ञापन थप्ने सम्भावना रहेको बताइएको छ। यस कदमलाई कम्पनीले नयाँ आम्दानीको स्रोतको रूपमा प्रयोग गर्ने देखिएको छ।