कीवर्डहरू -

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ बससेवाबाटै, दैनिक ४२ हजार बढी बुक गर्ने तयारी

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ बससेवाबाटै, दैनिक ४२ हजार बढी बुक गर्ने तयारी

मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । बस व्यवसायी र सरकारबीच असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको छ । 

यो सहमतिसँगै शनिबारदेखि अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवाबाट पनि बसको टिकट बुकिङ गर्न सकिने छ । विगतका वर्षमा पनि दसैँको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको हो ।

 बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।

प्रत्येक वर्ष दसैँमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको बताएका खनालले यस वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको जानकारी दिए । 

‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउनेछैन ।’

बससेवाले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारी गरिरहेको र यस सम्बन्धमा छिट्टै औपचारिक घोषणा गरिने बससेवाले जनाएको छ । 

बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौँको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौँ संख्याका बसका लाखौँ टिकट अनलाइनमार्फत् खरिद गर्न सकिने बससेवाले जनाएको छ । 

बससेवाको वेबसाइट र मोबाइल एपबाट अग्रिम टिकट बुकिङ गर्नुका साथै बससेवाको आधिकारिक फेसबुक पेजबाट नियमित अपडेट पाउन सकिन्छ ।