अग्मेन्टेड रियालिटी चश्मापछि मेटा रोबोटिक्सतर्फ मोडिन खोजिरहेको संकेत देखिएको छ। अहिले मेटाले आफ्नो प्रोजेक्ट ओरियनमार्फत विकसित गर्दै आएको अग्मेन्टेड रियलिटी चश्मामा काम गरिरहेको छ ।
सोर्सेसका एलेक्स हेथसँगको कुराकानीमा मेटाका सीटीओ एन्ड्र्यु बोस्वर्थले एप्पल, गुगल र टेस्लाजस्तै मेटाले पनि रोबोटसम्बन्धी अनुसन्धानलाई अगाडि बढाइरहेको खुलसा गरेका हुन् ।
तर ती कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै हार्डवेयरतर्फ ध्यान केन्द्रित गर्नुभन्दा मेटाको प्राथमिकता सफ्टवेयर विकासमा रहेको बताइएको छ। हाल ‘मेटाबोट’ नामक परियोजना अघि बढाइँदैछ, जसको वास्तविक उद्देश्य अन्य कम्पनीहरूले लाइसेन्स गर्न सक्ने सफ्टवेयर उपलब्ध गराउनु हो।
बोस्वर्थका अनुसार सफ्टवेयर नै मुख्य अवरोध हो । मेटाको रोबोटिक्स टिम (पूर्व क्रूजका सीईओ मार्क ह्विटनको नेतृत्वमा) तथा ‘सुपरइन्टेलिजेन्स ल्याब्स’ले मिलेर त्यसको समाधान निकाल्ने अपेक्षा गरिएको छ।
प्रारम्भिक चरणमा रोबोटलाई ‘डेक्स्टरस हात’लाई एनिमेट गर्न आवश्यक सफ्टवेयर सिमुलेशन गर्ने ‘वर्ल्ड मोडल’ विकासमा जोड दिइएको छ। आगामी दिनमा यसले जटिल काम र गतिविधिहरूमा समेत सहयोग गर्ने लक्ष्य राखिएको छ। सन् २०२५ को फेब्रुअरीतिर मेटाले घरायसी कामजस्तै सरसफाइ वा कपडा सफा गर्ने वा मिलाउने काम गर्न सक्ने रोबोट निर्माण गर्ने सम्भावना बारे अध्ययन गरिरहेको खबर आएको थियो।
यद्यपि यो परियोजना अझै प्रारम्भिक चरणमै रहेकोले त्यसलाई बजारमा आउन लामो समय लाग्ने अनुमान गरिएको छ।
रोबोटिक्सतर्फको दौडमा मेटा मात्रै छैन। एप्पलले डिस्प्ले भएको टेबल–माउन्टेड आर्म विकसित गर्ने तयारी गरिरहेको छ भने, टेस्लाले आफ्नो अप्टिमस रोबोटलाई पटक–पटक सार्वजनिक रुपमा प्रस्तुत गरेको छ।
अहिलेसम्म मेटाले स्मार्टफोनलाई प्रतिस्थापन गर्ने आफ्नो महत्वाकांक्षा स्वरूप एआर चश्मा सफलतापूर्वक ल्याउन सकेको छैन। तर, जुनसुकै अवस्थामा पनि कम्पनीको आगामी ठूलो लगानी अब रोबोटिक्समै केन्द्रित हुने प्रष्ट देखिन थालेको छ।