काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच SmartPay IBFT (Inter Bank Fund Transfer) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतासँगै हिमालयन बैंक एससीटीको SmartPay Network मा आबद्ध भएको छ । अब बैंकका ग्राहकले SmartPay IBFT मार्फत विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन् ।
एससीटीले विकास तथा सञ्चालन गर्दै आएको SmartPay IBFT अन्तरबैंक रकम स्थानान्तरणसम्बन्धी डिजिटल सेवा हो । यसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट र रेमिट्यान्स कम्पनीबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ ।
एससीटीका अनुसार SmartPay Network ले विभिन्न वित्तीय सेवाबीच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँच विस्तारमा सहयोग पुर्याउँदै आएको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटीले नेपालकै पहिलो डोमेस्टिक कार्ड ‘एससीटी कार्ड’ सुरुवात गरेको थियो । हाल कम्पनीले बैंक तथा वित्तीय संस्था, वालेट, रेमिट्यान्स कम्पनी र सहकारी संस्थालगायतलाई समेटेर कार्ड, एटीएम, पीओएस, इन्टरनेट तथा मोबाइल बैंकिङ, SmartQR र रकम स्थानान्तरणलगायतका डिजिटल भुक्तानी सेवा सञ्चालन गर्दै आएको छ ।
कम्पनीले SCT UnionPay, Visa, Mastercard, नेपालपे, Discover तथा RuPay कार्ड जारी तथा स्वीकार गर्ने नेटवर्कसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।
आईसीटी समाचार