कीवर्डहरू -

एआई, रोबाेट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क

एआई, रोबाेट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबाेट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको छ । 

डिल्लीबजारस्थित कलेज परिसरमा आयोजित मेलामा कलेजमा स्नातक तह दोश्रो र तेस्रो वर्षमा अध्ययनरत सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । 

विद्यार्थीले बनाएको परियोजना अद्भुत लागेको र नयाँ पुस्ताको  प्रविधि चेत देखेर निकै खुशी लागेको प्रदर्शनी अवलोकनकर्ता अनुसुया भट्टराईले बताइन् ।  निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा दश हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

“आजदेखि सुरु प्रदर्शनी साउन २० गतेसम्म सञ्चालन हुनेछ, प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने, अध्ययन गर्न चाहनेहरुलाई लक्षित गरिएको छ”, उनले भने, “प्रविधिमा रुचि राख्ने जो कोहीले विहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सक्नेछन् ।”

प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग, २०२४’ सञ्चालन गरिने उनले जानकारी दिए । लिगमा ४० भन्दा बढी रोबर्टहरुले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै रोबो वार ब्याटलमा सहभागी हुने र सो लिग छ महिनासम्म चल्ने उनको भनाइ छ ।

प्रदर्शनीमा रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि पनि अवलोकन गर्न पाइने छ । विद्यार्थीहरुले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिने जनाइएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय आइटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु रहेको कलेजले जनाएको छ । विद्यार्थीहरुले आइटीसम्बन्धी अध्ययनपश्चात् जीवन उपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।

“आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन् । यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ । र, हामीलाई आइटी अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो’, कलेज प्रमुख प्रमोद पौडेलले भने ।

फुडस्टल, बौद्धिक खेल समावेश प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विद्युतीय सवारीसाधनको अनुभव लिन सकिने जनाइएको छ । प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फूटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वारलगायतका ३० भन्दा बढी इन्नोभेटिभ प्रोजेक्टहरु रहनेछन् ।