पछिल्लो समय एआई प्रविधि निकै चर्चामा छ । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएसँगै चौतर्फी एआई प्रविधिले लोकप्रियता अझै बढि पायो । अहिले हरेक क्षेत्रमा एआई प्रविधिको प्रयोग हुन थालिसकेको छ । त्यस मध्ये बैंकिङ क्षेत्र पनि एक हो ।
विश्वभर फिजिकल बैंकको विकल्पको रूपमा डिजिटल बैंकको अवधारणा आइरहेको छ । डिजिटल बैंकिङमा एआई लगायत नवीन प्रविधिहरूको भूमिका विशेष हुने निश्चित छ । नेपालमा पनि एआई लगायत नवीन प्रविधिहरू बैंकिङ क्षेत्रमा ल्याउने प्रभावको विषयमा छलफल हुन थालिसकेको छ ।
बिहीबार काठमाडौंमा भएको डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ मा समेत बैंकिङ क्षेत्रमा एआईसहित नयाँ प्रविधिहरू ल्याउने प्रभावको विषयमा समेत छलफल भएको थियो ।
पछिल्लो समय एआईले धेरैको जीवनमा सहजता थपेको छ । एआईले मानव जातिको कामलाई सहज, छिटो, र प्रभावकारी बनाउन धेरै क्षेत्रहरूमा मद्दत गरिरहेको छ ।
एआईले पार्ने प्रभाव
एआईको प्रयोग गर्दा यसले उत्पादकत्व बढाउनुका साथै समयको समेत बचत गर्नेछ । यसले मानिसको रोजगारी खोस्नेभन्दा पनि कामलाई सुधार गर्ने र नयाँ अवसरहरू सिर्जनामा विशेष भूमिका खेल्नेछ ।
एआईलाई हामीले काम लिनेभन्दा पनि कामलाई सुधार गर्ने र नयाँ अवसरहरू सिर्जना गर्ने भन्ने दिशामा बढी उपयोग गर्नुपर्छ जस्तो लाग्छ । तर पनि एआईलाई जिम्मेवारीपूर्वक र न्यायोचित रूपमा प्रयोग गरेर, मानव जाति र प्रविधिबीचको सन्तुलन कायम राख्न भने जरुरी छ ।
यस बाहेक जोखिमयुक्त काममा एआईको प्रयोग उपयोगी बनाउने छ । अहिले खानी, निर्माण, युद्द जस्ता क्षेत्रमा मानिसहरूले काम गर्दै आएका छन्, जसले गर्दा उनीहरू ठूलो जोखिममा छन् । तर एआईले नै जोखिमयुक्त काम गर्दा मानिस थप सुरक्षित हुनेछन् ।
एआईले दोहोरिने कामलाई सहजै गर्न सक्ने छ, जसले गर्दा मानिसले त्यो काम एआईलाई गर्न दिएर बचेको समय रचनात्मक क्रियाकलापमा खर्च गर्न सक्नेछन् ।
समान पहुँचमा पनि एआईले विशेष काम गर्नेछ । एआईले शिक्षा, स्वास्थ्य र वित्तीय सेवाहरू सबैलाई समान रूपमा उपलब्ध गराउन मद्दत गर्नेछ ।
बैंकिङमा एआई र नवीन प्रविधिको भूमिका
बैंकिङ क्षेत्रमा पनि एआईको प्रयोग बढ्नेवाला छ । हरेक क्षेत्रमा एआईको प्रयोग बढ्दै जाँदा बैंकिङ क्षेत्र अछुतो रहन सक्ने छैन् ।
बैंकिङ क्षेत्रमा एआईले ग्राहक अनुभव सुधार गर्न, ठगी रोकथाम गर्न, डाटालाई विश्लेष्ण गरेर छिटो र शटिक निर्णय गर्न तथा दुर्गमासम्म सजिलै सेवा पुर्याउने सहयोगी हुनेछ ।
सेवा प्रदायकले ग्राहक अनुभवलाई सहज बनाउन एआई च्याटबट, मोबाइल एप र वेबसाइटको विकास गर्नुपर्छ, जुन प्रयोगकर्तामैत्री हुन भने आवश्यक छ ।
यस बाहेक ब्लकचेनबाट कारोबारलाई सुरक्षित बनाउन तथा इन्टरनेट अफ थिङ्स जस्तो नवीन प्रविधिबाट बैंकका स्मार्ट डिभाइसहरू (एटीएम, पस मेसिन) ट्रयाक गर्न, डेटा संकलन गर्न र वास्तविक समय जानकारी राख्न प्रयोग गर्न सकिने छ ।
डिजिटल बैंकिङमा देखिएका चुनौती र समाधान
नेपालका लागि डिजिटल प्रविधि आफैमा नौलो कुरा हो । यसको साक्षरताको अभावमा मानिसहरूले अनेक ठगीको शिकार भइरहेका छन् । लाखौं रूपैयाँ गुमाइरहेका छन् ।
सुरूमा हामीले डिजिटल साक्षरतामा काम गर्नुपर्नेछ । यसका लागि गाउँगाउँसम्म डिजिटल साक्षरताको अभियान चलाउनु पर्छ र डिजिटल प्रविधिको सही उपयोग बारे सिकाउनु पर्छ ।
साक्षरतासँग पूर्वाधारमा पनि उत्तिकै जोड दिनुपर्नेछ । विशेष गरी कनेक्टिभिटी र साइबर पूर्वाधारमा लगानी बढी गर्नुपर्नेछ । गाउँगाउँसम्म गुणस्तरीय कनेक्टिभिटी सुविधा पुर्याउनु पर्छ । पूर्वाधारको विकाससँगै त्यसको सुरक्षाका लागि विशेष काम गर्नुपर्छ ।
यस बाहेक ठगीबाट बचाउन प्रमाणीकरणलाई प्रक्रिया अझै बलियो बनाउनु पर्छ । डाटा गोपनीयतामा जोड दिदै बायोमेट्रिक प्रणाली लागु गर्नुपर्छ ।
नवीन प्रविधिहरू उपयोगका लागि कानुनहरू पनि समायानुकुल बनाउनु पर्छ । नेपालमा एआई र डिजिटल बैंकिङको एकीकरण गर्दै सुरूवातदेखि उन्नत स्तरसम्म लैजान सकिन्छ । यसका लागि सरकारी सहयोग, बैंकहरूको प्रविधि लगानी, ग्राहक चेतना र क्षमता निर्माण सुधार अपरिहार्य हुनेछ।
(लेखक श्रेष्ठ सानिमा बैंकका रिटेल प्रमुख तथा नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष हुन् ।)