कीवर्डहरू -

एआईले केही सेकण्डमै पत्ता लगाउन सक्छ सामान्य पासवर्ड, बलियो पासवर्ड यसरी राख्नुहोस्

एआईले केही सेकण्डमै पत्ता लगाउन सक्छ सामान्य पासवर्ड, बलियो पासवर्ड यसरी राख्नुहोस्

पछिल्लो समय साइबर अपराधमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग हुने क्रम बढ्दै गएको छ।

 विशेषगरी पासवर्ड तोड्ने (क्र्याक गर्ने) प्रविधि एआईमार्फत झनै शक्तिशाली बनेको छ। 

विशेषज्ञहरूका अनुसार सामान्य पासवर्डहरू एआईले केही सेकेन्डमै अनुमान लगाउन सक्छ। 

यसकारण, बलियो पासवर्ड, दुई तहको प्रमाणीकरण र सुरक्षित इन्टरनेट प्रयोग गर्न विशेषज्ञहरूले सल्लाह दिएका छन्।

सबैभन्दा पहिले बलियो पासवर्ड बनाउनुहोस्

पासवर्डमा केवल संख्यामा वा सानो अक्षरमा मात्र भर नपरौँ। ठूला र साना अक्षर, अंक र विशेष चिन्ह (@, &, !, # आदि) प्रयोग गरेर पासवर्ड बनाउनुपर्छ। जन्ममिति वा सार्वजनिक सूचनामा आधारित पासवर्ड कहिल्यै प्रयोग नगर्नुहोस्। विशेषज्ञहरूले कम्तिमा १७ वटा र्‍यान्डम अक्षरहरूको पासवर्ड प्रयोग गर्न सिफारिस गर्छन्। 

दुई तहको प्रमाणीकरण प्रयोग गर्नुहोस्

टू–फ्याक्टर अथेन्टिकेसन (2FA) वा मल्टि–फ्याक्टर अथेन्टिकेसन (MFA) ले पासवर्ड सुरक्षामा अतिरिक्त तह थप्छ। यसका लागि ईमेल, एसएमएस वा गूगल अथेन्टिकेटर, माइक्रोसफ्ट अथेन्टिकेटर जस्ता एपमार्फत कोड प्राप्त गर्न सकिन्छ। एसएमएसमार्फत पठाइने कोड अवरोध हुन सक्ने भएकाले एप प्रयोग गर्नु सुरक्षित हुन्छ।

नियमित पासवर्ड परिवर्तन गर्ने बानी बसालौँ

९० दिनमा एक पटक पासवर्ड परिवर्तन गर्न सुझाइन्छ। एआईले पासवर्ड क्र्याक गर्न सक्ने भएकाले अहिले यो झनै महत्त्वपूर्ण भएको छ । साथै एउटै पासवर्ड धेरै खातामा प्रयोग गर्नु ठूलो जोखिम हुने भएकाले फरक–फरक खातामा फरक पासवर्ड राख्नु जरुरी छ।

सार्वजनिक वाइफाइ प्रयोग गर्दा सावधान

पब्लिक वाइफाइ ह्याकरहरूको प्राथमिक लक्ष्य हुने भएकाले यस्तो नेटवर्क प्रयोग गर्दा डिजिटल कारोबार वा संवेदनशील खातामा लगइन नगर्नुहोस्।

एआई पासवर्ड गेसर के हो ?

पहिलेका ह्याकिङ सफ्टवेयर सामान्य पासवर्ड डेटाबेसमा आधारित हुन्थे, तर एआई पासवर्ड गेसरले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर झनै छिटो र ठ्याक्कै अनुमान लगाउन सक्छ।

एक अध्ययनअनुसार, १८ अक्षर लामो, ठूला–साना अक्षर, अंक र विशेष चिन्ह मिलेको पासवर्ड एआईलाई अनुमान गर्न एक अर्ब वर्ष लाग्न सक्छ । भने सामान्य पासवर्डहरू एआईले एक मिनेट भन्दा कम समयमा सबैभन्दा धेरै प्रयोग हुने पासवर्डहरू अनुमान गर्न सक्छ।