नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एडभान्स एनालाइटिक्स सेल (AI-AAC) स्थापना गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा स्थापना गरिएको सेलको उद्घाटन सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका थिए ।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल लगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।
बढ्दो साइबर अपराध, गलत तथा मिथ्या सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध र डिजिटल माध्यमबाट सामाजिक अस्थिरता सिर्जना गर्ने गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न जेनेरेटिभ एआई, लार्ज ल्याङ्वेज मोडल, मेसिन लर्निङ, प्रेडिक्टिभ एनालाइसिस र अटोमेसमा आधारित विश्लेषण गर्न सेल स्थापना गरेको बताइएको छ ।



यस सेलमार्फत प्रोएक्टिभ इन्टेलिजेन्स तथा अर्ली वार्निङ प्रणाली विकास, साइबर तथा डिजिटल क्राइम इन्टेलिजेन्स सुदृढीकरण, AI-Assisted Investigation र Judicial-Grade Digital Evidence प्रणाली विकासलगायत कार्य गरिने जनाइएको छ।
यसैबीच, एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना फैलाउने ५ वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानुनी दायरामा ल्याइसकिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले सामाजिक सञ्जालको दुरुपयोग नगर्न र जिम्मेवार डिजिटल व्यवहार अपनाउन सबै नागरिकलाई आग्रह गरेका छन् ।
आईसीटी समाचार