नेपालमा पहिलोपटक अपांगता भएका व्यक्तिहरूका लागि एआई (Artificial Intelligence) समाधान विकास गर्ने राष्ट्रियस्तरको ह्याकाथनको आवेदन खुला भएको छ । एआईडा (AI for People with Disability) ह्याकाथन नाम दिइएको यस कार्यक्रमलाई प्राटिक इन्नोभेसन्सले आयोजना गरेको हो।
कार्यक्रमले विद्यार्थी, डेभलपर, अनुसन्धानकर्ता तथा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याई अत्याधुनिक सहायक प्रविधि (Assistive Technology) विकास गर्ने लक्ष्य लिएको छ ।
यो केवल प्रतियोगिता मात्र नभई नवप्रवर्तन, सहकार्य र सामाजिक उद्यमशीलताको प्लेटफर्म भएको आयोजकको भनाइ छ । यसले समावेशी प्रविधि विकासमा सहयोग पुग्ने आशा गरिएको छ ।
ह्याकाथनको मुख्य विषयवस्तुमा स्मार्ट मोबिलिटी र कम्युनिकेशन टेक्नोलोजी, कग्निटिभ हेल्थ र इमोशन-अवेयर एआई, डिजिटल केयरगिभर र एआई कम्पानियन तथा श्रवण तथा वाक अशक्तताका लागि एआई-आधारित शिक्षा रहेका छन् ।
भदौ ७ देखि खुला भएको आवेदन असोज १० गतेसम्म खुला रहनेछ । छनोट भएका सहभागीहरूले असोज २३ गते ओरिएन्टेसन, असोज २४ देखि ३० गतेसम्म तालिम, कात्तिक २०–२१ मा सेमिफाइनल, र कात्तिक २४–२६ गतेसम्म ४८ घण्टे आवासीय ह्याकाथनमा भाग लिनेछन्। अन्तिम कार्यक्रम मंसिर २८ र २९ गते एआईडा सम्मेलन, र मंसिर ३० गते ग्रान्ड फिनाले हुनेछ ।
प्रतियोगितामा कुल नगद पुरस्कार १ लाख २० हजार रुपैयाँ रहेको छ । यसअन्तर्गत विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले २० हजार र विशेष बेस्ट इनोभेसन ट्र्याक विजेताले २० हजार रूपैयाँ प्राप्त गर्नेछन्। नगदसहित विजेता तथा फाइनलिस्टलाई इन्क्युबेसन, परामर्श र सम्भावित लगानीकर्ता तथा संस्थासँग सहकार्यको अवसर समेत उपलब्ध हुनेछ ।
सन् २०२८ सम्ममा यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय सम्मेलनमा रूपान्तरण गर्ने लक्ष्य राखिएको बताइएको छ । आवेदन तथा थप जानकारीका लागि आधिकारिक वेबसाइट www.aida.prateekinnovations.com वा सम्पर्क नम्बर +977 9813376093 / +977 9869724290 मा सम्पर्क गर्न सकिनेछ ।