कीवर्डहरू -

‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ सम्पन्न, नेपाली विद्यार्थीहरू जेनेभामा सहभागी हुने

‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ सम्पन्न, नेपाली विद्यार्थीहरू जेनेभामा सहभागी हुने

काठमाडौं इन्जिनियरिङ कलेजमा आयोजित ‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । 

रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN), काठमाडौं इन्जिनियरिङ कलेज र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को सहकार्यमा जेठ २५ गते सम्पन्न कार्यक्रममा देशभरका युवाहरूले बाढी, पहिरो, विपद् व्यवस्थापन, स्वास्थ्य र समावेशी प्रविधि सम्बन्धी समस्याको समाधानका लागि नवीनतम प्रविधि प्रस्तुत गरेका थिए ।

यस प्रतियोगितामा विजेता टोलीहरू सन् २०२५ मा स्वीट्जरल्यान्डको जेनेभामा हुने ‘एआई फर गुड ग्लोबल समिट’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङले राज्य र निजी क्षेत्र दुवैले प्रविधिमा लगानी गर्नुपर्ने जोड दिएका थिए ।  ‘मन्त्रालयले प्रविधि, एआई, रोबोटिक्स, र आइसिटी पूर्वाधार विकासका लागि ३० अर्ब रुपैयाँको बजेट माग गरेको थियो,’ उनले भने, ‘तर जम्मा ७ देखि ८ अर्ब मात्र स्वीकृत भयो । बजेट अभावले हाम्रो प्रविधि क्षेत्रको महत्त्वाकांक्षी योजना अघि बढाउन बाधा पुऱ्याइरहेको छ । यदि हामीले विद्यार्थीहरुबाट इनोभेसन चाहन्छौं भने, उनीहरूको भविष्यमा लगानी गर्नैपर्छ।’

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले एआईलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउने समय आएको बताएका थिए । 

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सचिव डा. रविन्द्र ढकालले प्रविधिले समस्या सिर्जना होइन समस्या समाधान गर्नुपर्ने बताएका थिए । 

त्यसैगरी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. डा. सुशिल बज्राचार्यले प्रविधिमा आधारित इनोभेसनलाई सघाउन १८-१९ तले प्रविधि इन्क्युबेसन टावर निर्माणको प्रस्ताव अगाडि सारिएको जानकारी दिएका थिए । करिब ९ अर्ब रुपैयाँको पूर्वाधार विकास योजना शिक्षा मन्त्रालयमा पठाइएको उनको भनाइ छ । 

प्रतियोगितामा बेलर इन्टरनेसनल एकेडेमी र बनेपा निस्टको टिम पाँचखाल प्रथम तथा ट्रिनिटी इन्टरनेशनल कलेजको टिम इन्नोभेटर्स दोस्रो र ब्लकबडी तेस्रो भएका छन् । 

जुनियर तह (कक्षा ४–१०) मा युनाइटेड स्कुल, केएमसी स्कुल र समृद्ध स्कुलका विद्यार्थीहरूले जित हात पारेका छन् । उनीहरू पनि जिनेभाको सम्मेलनमा सहभागी हुनेछन् ।

र्‍यानका महासचिव ओम्कार जैसवालले प्रविधिको विकास र विस्तारका लागि सरकार, शैक्षिक संस्था र नागरिक समाजबीच दीर्घकालीन सहकार्य आवश्यक रहेको बताएका थिए ।