कीवर्डहरू -

ब्रान्डसँग क्रिएटर जोड्ने एआई प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा

ब्रान्डसँग क्रिएटर जोड्ने एआई प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा

काठमाडौं । कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीच सहकार्य सहज बनाउने उद्देश्यले एआईमा आधारित डिजिटल प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा आएको छ । बुधबार आयोजित एक कार्यक्रममा क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङलाई व्यवस्थित गर्ने ‘अल–इन–वन अपरेटिङ सिस्टम’का रूपमा प्लेटफर्म सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार क्रिएटर र ब्रान्डबीच सहकार्यका क्रममा हुने म्यानुअल प्रक्रियालाई एआई र डेटा विश्लेषणमार्फत सहज बनाउने उद्देश्यले इनमार्क विकास गरिएको हो । क्रिएटरहरूले स्पोन्सरसिपका लागि विभिन्न ब्रान्डसँग व्यक्तिगत रूपमा सम्पर्क गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्लेटफर्मले उपयुक्त ब्रान्डसँग क्रिएटरलाई जोड्ने जनाएको छ ।

प्लेटफर्ममा आबद्ध भएपछि एआईले क्रिएटरको कन्टेन्ट शैली, विगतका क्याम्पेन र दर्शकको विश्लेषण गरी उपयुक्त ब्रान्डसमक्ष उनीहरूको प्रोफाइल पुर्‍याउने कम्पनीको दाबी छ । यसका साथै स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ तथा रिपोर्टिङमा समेत एआईको प्रयोग गर्न सकिनेछ ।

ब्रान्ड तथा मार्केटिङ एजेन्सीका लागि पनि प्लेटफर्म उपयोगी हुने कम्पनीले जनाएको छ । ब्रान्डले भिडियो वा भ्वाइस नोटमार्फत दिएको जानकारीका आधारमा एआईले क्याम्पेन ब्रिफ र ह्यासट्याग तयार गर्ने तथा ‘एआई फिट स्कोर’का आधारमा बजेट र लक्षित दर्शकसँग मेल खाने क्रिएटर सिफारिस गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, धेरै क्रिएटरले तयार पारेका सामग्री निर्धारित ब्रिफ तथा स्क्रिप्टअनुसार भए नभएको एआईमार्फत एकैपटक परीक्षण गर्न सकिने कम्पनीले जनाएको छ । यसले विज्ञापनलाई लक्षित दर्शकसम्म प्रभावकारी रूपमा पुर्‍याउन तथा लगानीको प्रतिफल बढाउन सहयोग पुग्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार क्रिएटर र ब्रान्डले सामाजिक सञ्जालका अकाउन्टमार्फत ‘वान–क्लिक’ लगइन गरी इनमार्कको सेवा प्रयोग गर्न सक्नेछन् । प्लेटफर्ममा मूल्य निर्धारण, सम्झौताका सर्त तथा कन्टेन्टको बौद्धिक सम्पत्तिसम्बन्धी व्यवस्था समेत समेटिएको कम्पनीले जनाएको छ ।