तपाईले एआई च्याटबटसँग कुरा गर्दा पक्कै पनि 'थ्याङ्क यु', 'प्लिज' जस्ता शब्दहरू प्रयोग गर्नुहुन्छ । तर के तपाईलाई थाहा छ, 'थ्याङ्क यु', 'प्लिज' जस्ता शब्दहरू प्रयोग गर्दा च्याटजीपीटीको सर्भरमा थप लोड पर्छ, जसले गर्दा बिजुलीको खर्च पनि बढ्छ ।
यो हामी हामीले भनेको होइन, ओपनएआईका सीईओ स्याम अल्टम्यानले भनेका हुन् । वास्तवमा, कृत्रिम बुद्धिमत्ता (एआई) सँग कुरा गर्दा शिष्टाचार अर्थात् ‘प्लिज’ र ‘थ्याङ्क यु’ भन्नुपर्छ ? यस प्रश्नमा ओपनएआईका सीईओ स्याम अल्टम्यानले हालै एक रोचक उत्तर दिएका हुन् ।
एक युजरले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) मा के च्याटजीपीटीसँग विनम्र भाषामा कुरा गर्दा ओपनएआईलाई बढी खर्च हुन्छ ? भन्ने प्रश्नको जवाफमाअल्टम्यानले जवाफ दिए, 'करिब करोडौँ डलर खर्च हुन्छ, तर यो राम्रो तरिकाले खर्च गरिएको पैसा हो ।'
अल्टम्यानले भने अनुसार, जब युजरहरूले ‘प्लिज’, ‘थ्याङ्क यु’ जस्ता शब्द प्रयोग गर्छन्, तब च्याटजीपीटीले ती शब्दहरू बुझ्न र त्यसअनुसार जवाफ तयार गर्नुपर्ने हुन्छ । यसले प्रोसेसिङ लोड बढाउँछ, जसले गर्दा कम्पनीको बिजुली र सर्भर लागत पनि बढ्छ ।
धेरै डिजाइन विज्ञहरूले एआईसँग विनम्रतापूर्वक कुरा गर्नु एक राम्रो बानी भएको बताएका छन् । माइक्रोसफ्टका डिजाइन म्यानेजर कर्टिस बीवर्सका अनुसार, “जब तपाईं शिष्ट र सकारात्मक भाषा प्रयोग गर्नुहुन्छ, तब एआईले पनि सहयोगी र सम्मानजनक उत्तर दिन प्रयास गर्छ ।”
वास्तवमा, एआई एउटा प्रिडेक्टिभ सिस्टम हो, जस्तै तपाईंको फोनमा टाइप गर्दा अटो–कम्प्लीट सजेसन देखिन्छ, तर त्योभन्दा धेरै बढी समझदार तरिकाले । त्यसैले तपाईंको भाषा, शिष्टाचार र स्पष्टताले सीधै एआईका उत्तरहरूको गुणस्तरमा असर पार्दछ ।