गुगलका सह–संस्थापक सर्गेई ब्रिनले दाबी गरेका छन् कि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट राम्रो नतिजा पाउनका लागि एआईलाई धम्क्याउनु फाइदाजनक हुन सक्छ । यद्यपि यो अभिव्यक्ति मजाकका रूपमा दिइएको थियो, तर यसले एआईको व्यवहार र प्रयोग सम्बन्धी गम्भीर बहस सुरु गरिदिएको छ ।
सर्गेई ब्रिनले हालै मियामीमा आयोजित “अल इन लाइभ“ नामक कार्यक्रममा एउटा चकित पार्ने अभिव्यक्ति दिएका छन्। उनले हाँस्दै भने, “हामी एआई समुदायमा यसबारे धेरै कुरा गर्दैनौं, तर सबै मोडेलहरू, धम्की दिँदा अझ राम्रो जवाफ दिन्छन् ।”
एआई प्रयोगकर्ताहरूलाई प्रायः लाग्ने गर्छ कि विनम्रतापूर्वक सोध्दा राम्रो जवाफ आउँछ । तर, ओपनएआईका सिईओ सैम अल्टम्यानले हालै यस धारणालाई पनि मजाकमै खारेज गरेका छन् । जब एक प्रयोगकर्ताले सोधे – “के ‘प्लीज’ र ‘थ्याङ्क यू’ भन्नाले बिजुली खर्च बढ्छ?” अल्टम्यानले मजाकमै भने, “यसले करोडौं डलरको कम्प्युटिङ पावर बर्बाद गर्छ ।”
ब्रिनको यो अभिव्यक्तिले पुनः “प्रम्प्ट इन्जिनियरिङ” को बहसलाई तातो बनाएको छ । यो प्रविधि एआई बाट राम्रो जवाफ पाउनका लागि उपयुक्त इनपुट तयार पार्ने कला हो । यद्यपि, जति एआई स्मार्ट बन्दै गएको छ, प्रयोगकर्ताहरू पनि उसैलाई प्रयोग गरी अझ राम्रो प्रॉम्प्ट बनाउन थालेका छन् ।
आईईई स्पेकट्रमले यो प्रवृत्तिलाई लिएर भनेको थियो कि प्रम्प्टमाथि काम अब “मरेको” छ । त्यही वेला, वाल स्ट्रीट जर्नलले यसलाई २०२३ को सबैभन्दा “हट जागिर” भनेको थियो, तर पछि “निरर्थक” घोषित गर्यो ।
युनिभर्सिटी अफ इलीनोइसका प्रोफेसर ड्यानियल काङका अनुसार यस्ता किस्सा सामान्य छन्, तर अनुसन्धानले मिश्रित नतिजा देखाएको छ। २०२४ को एउटा अध्ययन “सुड वी रेस्पेक्ट एलएलएम्स” मा देखाइएको थियो कि धेरै पटक विनम्र भाषा प्रयोग गर्दा एआई को प्रदर्शनमा सुधार आउने गर्छ ।
सर्गेई ब्रिन २०१९ मा गुगलबाट अलग भएका थिए, तर एआई मा भइरहेको तीव्र विकासले उनलाई पुनः सक्रिय बनायो । सन् २०२३ मा उनले कम्पनीमा पुनः फर्किएर जेमिनाई एआई जस्ता प्रोजेक्टहरूमा टोलीलाई मार्गदर्शन गर्न थाले । उनले भने, “जो कोही कम्प्युटर वैज्ञानिक छन्, अहिलेको समयमा रिटायर हुन हुँदैन्।”