अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो नयाँ मन्त्रिपरिषद्मा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएको ‘मन्त्री’ नियुक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रस्तुत गरिएको यो भर्चुअल पात्रको नाम ‘डिएला’ राखिएको छ, जसको अर्थ अल्बानियाली भाषामा ‘सूर्य’ हुन्छ।
प्रधानमन्त्री रामाका अनुसार डिएला भौतिक रूपमा उपस्थित नभई भर्चुअल रूपमा सिर्जना गरिएकी मन्त्री हुन् । उनले फेसबुकमार्फत घोषणा गर्दै भनेका छन्, ‘सार्वजनिक टेण्डरहरू १०० प्रतिशत भ्रष्टाचारमुक्त हुनेछन्, प्रक्रिया छिटो, दक्ष र पूर्ण पारदर्शी बन्नेछ।’
डिएला अल्बानियाको राष्ट्रिय सूचना समाज एजेन्सीको वेबपेजअनुसार अत्याधुनिक एआई मोडेल र प्रविधि प्रयोग गर्छिन्। उनलाई यसअघि माइक्रोसफ्टसँग सहकार्यमा e-Albania प्लेटफर्मको भर्चुअल सहायकका रूपमा विकास गरिएको हो। त्यहाँ उनले हालसम्म करिब १० लाख नागरिकलाई अनलाइन सेवाहरूमा सहयोग गरिसकेकी छन्। भर्चुअल रूपमा उनले परम्परागत अल्बानियाली पोशाकमा देखाइने गरिएको छ।
रामाको समाजवादी पार्टीले गत मे ११ को निर्वाचनमा १४० मध्ये ८३ सिट जित्दै लगातार चौथो कार्यकाल सुनिश्चित गरेको छ। पाँच वर्षभित्र युरोपेली संघ (EU) को सदस्यता दिलाउने वाचा गरे पनि विपक्षी डेमोक्रेटिक पार्टीले यसलाई असम्भव बताउँदै आलोचना गरेको छ।
युरोपेली संघ प्रवेश वार्ता गत वर्ष पूर्ण रूपमा खुलिसकेको छ। तर, संगठित अपराध र भ्रष्टाचार नियन्त्रण अझै अल्बानियाको मुख्य चुनौती बनेको छ। रामाले भने, ‘डिएलाले स्थानीय निकायलाई युरोपेली अभ्यासअनुसार द्रुत गतिमा काम गर्न सहयोग पुर्याउनेछिन्।’
तर, डिएलाको संवैधानिकता विवादास्पद बनेको छ। राष्ट्रपति बज्राम बेगाजले रामालाई नयाँ सरकार गठनको जिम्मेवारी दिए पनि पत्रकारले सोध्दा उनले डिएलाको भूमिका औपचारिक मन्त्रीको हैसियत हो कि होइन भन्ने प्रश्न खुला छोडेका छन् ।
विपक्षी डेमोक्रेटिक पार्टीका नेता गाजमन्द बार्धीले भने डिएलाको नियुक्तिलाई असंवैधानिक भन्दै कटाक्ष गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीको हास्यास्पद कार्यलाई अल्बानियाली राज्यको कानुनी निर्णयमा रूपान्तरण गर्न सकिँदैन।’
नयाँ सांसदहरूले शुक्रबार शपथ लिएपछि सभामुख र उपसभामुख चयन हुनेछन्। त्यसपछि मात्रै रामाको नयाँ मन्त्रिपरिषद् आधिकारिक रूपमा प्रस्तुत गरिनेछ। तर, डिएलाको भर्चुअल पदमाथि संसदमा मतदान हुने वा नहुने विषय अझै स्पष्ट छैन।
केही विशेषज्ञ र उद्यमीहरूले डियलालाई लिएर सकारात्मक सम्भावना भएको टिप्पणी गरेका छन्। फाइनान्स कम्पनी बाल्कन्स क्यापिटलकी संस्थापक एनेदा बाज्राकतारी बिक्जाले यो एआई प्रणालीले पारदर्शिता र विश्वास बढाउने काम गरेमा उपयोगी हुन सक्ने बताएका छन् ।
यस्तै भ्रष्टाचारविरोधी विशेषज्ञ डा. आन्दी होक्साजका अनुसार एआई सही रूपमा प्रयोग भएमा सार्वजनिक खरिदमा अनियमितता घटाउन सकिने बताएका छन् ।
अब प्रश्न उब्जिएको छ – के डिएला जस्तै एआई प्रणालीले साँच्चै सार्वजनिक खरिदमा पारदर्शिता ल्याएर भ्रष्टाचारविरुद्धको लडाइँलाई सशक्त बनाउन सक्छ?