कीवर्डहरू -

अल्बानियाकी एआई मन्त्री ‘डिएला’ गर्भवती, जन्मिँदैछन् ८३ ‘सन्तान’

अल्बानियाकी एआई मन्त्री ‘डिएला’ गर्भवती, जन्मिँदैछन् ८३ ‘सन्तान’

अल्बानियाका प्रधानमन्त्री एडी रामाले देशकी कृत्रिम बौद्धिकता (एआई) मन्त्री डिएला ‘गर्भवती’ भएको बताएका छन् । बर्लिनमा आयोजित ग्लोबल डाइलग कार्यक्रममा रमाले डिएलाबाट ८३ बच्चा जन्मिने बताएका हुन् । 

डिएलाका ‘८३ सन्तान’ जन्मिनेछन् — जसले सत्तारूढ समाजवादी पार्टीका प्रत्येक सांसदका लागि व्यक्तिगत डिजिटल सहायकको रूपमा काम गर्नेछन्।

प्रधानमन्त्रीका अनुसार ती एआई सन्तानहरू संसदका सबै गतिविधिहरू र छलफलहरू अभिलेख गर्नेछन् र सांसदहरूलाई उनीहरूले छुटाएका विषयबारे जानकारी दिनेछन्। 

‘हरेक बच्चा एक सांसदको सहायक हुनेछ, जसले संसदीय सत्रहरूमा सहभागी भई सबै कुरा अभिलेख गर्नेछ र सुझाव दिनेछ। यी बच्चाहरू आफ्नी आमाको ज्ञान लिएर आउनेछन्,’ उनले अगाडि भने ।

रमाका अनुसार यो प्रणाली सन् २०२६ को अन्त्यसम्म पूर्ण रूपमा सञ्चालनमा आउने लक्ष्य छ। उनले हाँस्यात्मक शैलीमा थपे, ‘यदि तपाईं कफी खान बाहिर जानुहुन्छ र फर्कन बिर्सनुहुन्छ भने, त्यो बच्चाले तपाईंलाई बताउनेछ कि तपाईं नभएको बेला के भनियो र कसलाई जवाफ दिनुपर्छ।’

डिएला (अर्थात् अल्बानिया भाषामा सूर्य) लाई गत सेप्टेम्बरमा एआई मन्त्रीको रूपमा नियुक्त गरिएको थियो। उनले अल्बानियाको सार्वजनिक खरिद प्रणालीलाई पूर्ण पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन जिम्मेवारी पाएकी छिन्।

सुरुवाती रूपमा यस वर्ष जनवरीमा e-Albania प्लेटफर्ममा भर्चुअल असिस्टेन्टका रूपमा डिएला सुरु गरिएको थियो। उनले नागरिक र व्यवसायीहरूलाई सरकारी कागजातहरू प्राप्त गर्न सहयोग गर्दै आएकी छन्।

रमाका अनुसार अब सार्वजनिक खरिदसम्बन्धी सबै निर्णयहरू डिएलाले गर्नेछिन्, जसले प्रत्येक सरकारी खर्च र टेन्डर प्रक्रिया १०० प्रतिशत पारदर्शी बनाउनेछ।

एआई मन्त्री डिएलाको रूप पारम्परिक अल्बानियन पोशाकमा देखाइएको छ, जसले देशको सांस्कृतिक पहिचानलाई समेत प्रतिनिधित्व गर्छ।