कीवर्डहरू -

फिलिपिन्समा प्रकोप आउनुअघि नै डिजिटल राहत उपलब्ध गराउने नयाँ मोडेलको परीक्षण गर्दै अलोई

फिलिपिन्समा प्रकोप आउनुअघि नै डिजिटल राहत उपलब्ध गराउने नयाँ मोडेलको परीक्षण गर्दै अलोई

डिजिटल वित्तीय सेवा प्रदायक संस्था अलोई र जलवायु प्रविधिमा काम गर्ने फिलिपिन्सको कोमुनिड्याडबीच नयाँ सहकार्य सुरु भएको छ । यो सहकार्यअन्तर्गत फिलिपिन्समा प्रकोप आउनुअघि नै डिजिटल राहत उपलब्ध गराउने नयाँ मोडेलको परीक्षण गरिँदैछ ।

दुवै संस्थाले आपत्कालीन स्थितिको पूर्वानुमान र डिजिटल भुक्तानी प्रणालीलाई एकीकृत गरेर आपत्‍कालीन राहत प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रयास गरेका छन् । कोमुनिड्याडले बाढी, आँधी, लगायतका प्राकृतिक प्रकोपहरूको पूर्व चेतावनी दिने प्रणाली उपलब्ध गराउँछ । अब अलोईले डिजिटल प्रणालीमार्फत नागरिकको मोबाइलमा सिधै राहत रकम पठाउने सुविधा प्रदान गर्नेछ ।

यस प्रणालीमार्फत आपत्‌कालीन चेतावनी पाएको वित्तिकै स्थानीय सरकारहरू नागरिकको मोबाइलमा खाद्यान्न वा आवश्यक सामग्री खरिद गर्न सकिने डिजिटल राहत रकम पठाउनेछन्।

‘हामी पूर्वानुमानलाई वित्तीय कार्यमा परिणत गर्दैछौं, जसले समुदायलाई समयमै तयारी, अनुकूलन र पुनर्निर्माणमा सहयोग पुर्‍याउँछ,’ अलोईकी सहसंस्थापक तथा सीईओ टिफनी टोङले भनिन् ।

कोमुनिड्याडका सहसंस्थापक तथा सीओओ एलिस्टर आयकका अनुसार जलवायु कार्य अब केवल चेतावनी दिने विषय मात्रै होइन, निर्णय गर्ने क्षमतामा आधारित हुनुपर्छ।

अहिलेसम्म अधिकांश राहत प्रकोपपछिको अवस्थामा नगद वा भौतिक सामग्री वितरण गरेर दिइँदै आएको छ, जसमा ढिलाइ, अनियमितता र अपारदर्शिता हुने समस्या थियो। तर, अलोईको डिजिटल प्रणालीले राहत वितरण प्रक्रियालाई पारदर्शी, द्रुत र गरिमामय बनाउने विश्वास गरिएको छ।

यो मोडेलले आपतकालीन अवस्थालाई मात्र नभई पूर्व तथा पछिल्लो पुनःस्थापनासमेत समेट्ने गरी लोन र सामाजिक सुरक्षा प्रणालीसँग पनि एकीकरण गर्ने लक्ष्य राखेको छ।