अमेजनले आफ्नो ‘सेम-डे’ र ‘नेक्स्ट-डे’ डेलिभरी सेवालाई ग्रामीण अमेरिकाका ४ हजार भन्दा बढी साना शहर र वस्तीहरूमा विस्तार गर्ने घोषणा गरेको छ । यस विस्तारले आइओवाको अस्बरी, ओहायोको फोर्ट सेनेका, डेलावरको लुइस, टेक्सासको नर्थ पाड्रे आइल्यान्ड र मेरिल्यान्डको शार्पटाउन जस्ता स्थानका लाखौं ग्राहकहरूलाई तीव्र डेलिभरी सेवा उपलब्ध गराउनेछ।
कम्पनीले सन् २०२६ सम्ममा आफ्नो डेलिभरी नेटवर्कलाई तीनगुणा बनाउने लक्ष्यसहित ४ अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ। ग्रामीण क्षेत्रमा अनलाइन किनमेलका सीमित विकल्पहरूको कारण तीव्र डेलिभरी सेवाको माग तीव्र रूपमा बढिरहेको अमेजनले जनाएको छ।
डेलिभरी नेटवर्क विस्तारसँगै कम्पनीले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। अमेजनले एक स्टेशनमा झण्डै १७० जना रोजगार दिने तथा स्थानीय चालकहरूका लागि समेत अवसरहरू सिर्जना गर्ने बताएको छ।
कम्पनीका अनुसार, अमेरिका भित्र ‘सेम-डे’ वा ‘नेक्स्ट-डे’ डेलिभर हुने वस्तुहरूको संख्या गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले वृद्धि भएको छ। केवल २०२४ मै कम्पनीले ९ अर्बभन्दा बढी सामानहरू तीव्र डेलिभरी सेवामार्फत पठाएको उल्लेख गरिएको छ।
यो घोषणा अमेजनको आगामी ‘प्राइम डे’ को पूर्वसन्ध्यामा आएको हो, जुन जुलाई ८ देखि ११ सम्म ९६ घण्टा सञ्चालन हुनेछ। प्राइम डेमा अमेजनले विशेष छुट र अफरहरू उपलब्ध गराउनेछ।