कीवर्डहरू -

दुईवटा ड्रोन दुर्घटना भएपछि अमेजनले टेक्सस र एरिजोनामा रोक्यो ड्रोन डेलिभरी सेवा

दुईवटा ड्रोन दुर्घटना भएपछि अमेजनले टेक्सस र एरिजोनामा रोक्यो ड्रोन डेलिभरी सेवा

अमेजनका ड्रोनहरूले निकट भविष्यमा कुनै पनि डेलिभरी नगर्ने सम्भावना देखिएको छ । ब्लूमबर्गका अनुसार, कम्पनीले टेक्सस र एरिजोनामा सबै व्यावसायिक ड्रोन डेलिभरीहरू रोकिदिएको छ। 

ओरेगनको पेंडल्टन विमानस्थलमा परीक्षणका क्रममा अमेजनका दुईवटा एमके ३० ड्रोन दुर्घटनाग्रस्त भएपछि कम्पनीले नयाँ कदम चालेको हो ।

एमके ३० कम्पनीको नयाँ पुस्ताको ड्रोन मोडल हो, जुन हल्का र यसको पूर्ववर्ती एमके २७ भन्दा लामो दूरीसम्म उड्न सक्षम छ । यी घटनाहरू गत डिसेम्बरमा भएका थिए, जसमा एउटा ड्रोन झरेपछि आगो समेत लागेको थियो । 

हल्का वर्षाका कारण परीक्षण भइरहेको बेला देखा परेका सफ्टवेयर समस्याका कारण यी ड्रोन दुर्घटनाग्रस्त भएको अमेजनले बताएको थियो । तर, दुर्घटना ड्रोन डेलिभरी रोक्ने ‘प्रमुख कारण’ नभएको कम्पनीको भनाइ छ ।

अमेजनका प्रवक्ता स्याम स्टेफेन्सनले ब्लूमबर्गलाई हाल ड्रोनको सफ्टवेयरमा परिवर्तन गरिरहेको र यो सञ्चालन रोक्नु स्वैच्छिक कदम भएको बताएका छन् ।

‘सफ्टवेयर अपडेट पूरा भएपछि, अमेजनले पुन: सञ्चालन सुरू गर्न फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (FAA) बाट स्वीकृति लिनुपर्नेछ,’ उनले भने, ‘ड्रोन साइटका कर्मचारीहरूलाई यो कारबाहीको बारेमा शुक्रबार जानकारी दिइएको थियो र यो रोकावटका समयमा पनि तिनीहरूले तलब पाउनेछन् ।’

डिसेम्बरका दुर्घटनाहरूका अतिरिक्त, केही महिना अघिको अर्को परीक्षणमा दुईवटा एमके ३० ड्रोन आपसमा ठोक्किएका थिए । अमेजनले परीक्षणका क्रममा यस्ता घटनाहरू देखिने अपेक्षा राखेको र यसले सेवा सुरक्षित बनाउन सुधार गर्न मद्दत गर्ने स्टेफेन्सनको भनाइ छ ।

अमेजनले २०२२ देखि टेक्ससमा ड्रोनमार्फत औषधि बाहेकका डेलिभरीहरू पठाउँदै आएको थियो । एक वर्षपछि त्यसमा प्रेस्क्रिप्सन मेडिसिन पनि थपिएको थियो । २०२४ मा, अमेजनले क्यालिफोर्नियामा ड्रोन डेलिभरी रोक्दै फिनिक्स एरिजोनामा यो सेवा सुरू गरेको थियो ।